मार्मा पहिरो पुर्नस्थापनामा ११ करोड बढि खर्च चाहिने

बाढिपहिरोका कारण मार्मा गाउँपालिकामा पुर्नस्थापना गर्न ११ करोड बढि खर्च लाग्ने भएको छ । मार्मा गाउँपालिकाका वडा नम्बर ४ र ५ मा आएको क्षतिका कारण ३५ परिवार विस्थापित भएका थिए । असार अन्तिम साता आएको बाढिपहिरो कारण क्षति भएको थियो ।
क्षतिको अवस्थाबारे अध्ययन गर्न गत साउन १६ गते प्राविधिक मूल्यांकन समिति गठन भएको थियो । पूर्वाधार विकास कार्यालय बैतडीका ईन्जिनियर हर्कराज जोशीको संयोजकत्वमा चार सदस्यीय समिति गठनगरेको थियो ।
समितिले तयार पारेको प्रतिवेदनअनुसार बाढिपहिरो रोकथाम तथा तडबन्ध निर्माणको लागि ११ करोड बढि बजेट खर्च लाग्ने पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर हर्कराज जोशीले जानकारी दिए ।
पहिरो तपोवन मूरै सडक खण्डको अलि तलबाट आएको देखिन्छ, उनले भने, सडकको माटो बगेरै गन्याड खोलामा बाढिमा परिणत भयो । पहिरोका कारण १७ परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।
प्रतिवेदनले खोलालाई खुला छोड्नुपर्ने सुझाव दिइएको छ । गन्याड खोला र चमेलिया नदिले गरिरहेको कटान पनि रोक्नुपर्ने देखिएको उनले बताए । पूरै बस्ती जोखिम हुने गरी आएको पहिरोका कारण घरहरु आधा पूरिएका छन् भने खेतियोग्य जमिन बगरमा परिणत भएको छ ।
समितिले तयार पारेको प्रतिवेदनलाई लिएर मार्मा गाउँपालिकाका जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका नेताहरुले संघीय मन्त्री, प्रदेश सरकार लगायतलाई बुझाइसकेका छन् । मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी समितिले दिएको प्रतिवेदनकै आधारमा प्रधानमन्त्री अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री लगायतलाई पहिरो नियन्त्रणमा बजेट विनियोजनको लागि माग गरिएको बताउनुहुन्छ । प्रदेश सरकारलाई पनि प्रतिवेदन दिएका छौं । संघमा पनि गयौं ।
पहिरोको अवस्थाबारे प्रतिवेदन तयार गर्न पूर्वाधार कार्यालय बैतडीका इन्जिनियर हर्कराज जोशीको नेतृत्वमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दार्चुलाका सहायक ईन्जिनियर मदनबहादुर भण्डारी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडी, सम्पर्क कार्यालय, दार्चुलाका सहायक ईन्जिनियर प्रकाश पार्की, दार्चुला विद्युत वितरण केन्द्र दार्चुलाका सुपरभाईजर पदमबहादुर बम र मार्मा गाउँपालिकाका सहायक ईन्जिनियर विक्रम जोशी सदस्य रहेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार