दार्चुला । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आठ बुदे माग राखेका छन् । दार्चुलाबासीको तर्फबाट जिल्लाको विकास निर्माणको लागि माग राखेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलोपटक दार्चुलाको पार्टीको प्रतिनिधिमण्डलले भेटघाट गरि बधाई दिनुको साथै दार्चुलाको विकास र सम्बृद्धिको लागि आठ बुदे ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाइएको हो ।
ज्ञापन पत्रमा रणनीतिक महत्वको महाकाली करिडोर (दार्चुला–टिंकर) सडकलाई कम्तीमा ४० करोड बजेट विनियोजन गर्न माग गरिएको छ । यस्तै यो सडकलाई प्रेमसिंह धामी राष्ट्रिय राजमार्ग नामाकरण गर्न माग गरिएको छ ।
यसैगरी, तिंकर नाकाबाट स्थानीय बासिन्दाहरु ताक्लाकोट प्रवेश गरेका तर त्यहाँ व्यापार व्यवसाय गर्न र पसल खोल्न हालसम्म पनि नपाएकोले सरकारीस्तरबाट कुटनीतिक पहलको लागि माग गरिएको छ ।
तीन साता अघि अविरल वर्षाबाट मार्मा गाउपालिका वडा नम्बर ४ र ५ मा पर्ने मर्मती र गन्याड बस्तीहरुमा ठूलो क्षति भई विस्थापित भएका र अन्य ठाँउहरुमा क्षति भएकोले राहत तथा पुनस्र्थापनाको लागि माग गरिएको छ ।
दार्चुलाको गोकुलेश्वर एयरपोर्ट आर्थिक वर्ष २०७८÷७९ सालमा बहुबर्षिय ठेक्का स्विकृत भई काम सञ्चालन भईरहेकोमा चालू आर्थिक वर्षको लागि यथोचित बजेट विनियोजन गरि धावन मार्ग कालोपत्रे लगायत अन्य आवश्यक पूर्वाधार निर्माणको ठेक्का सञ्चालनको व्यवस्था मिलाउन ज्ञापन पत्रमा भनिएको छ ।
वर्षाैदेखि झोलुङ्ग पुल नहुँदा व्याँस गाउपालिकाको वडा नम्बर २ दुम्लिङमा स्थानीयले आवतजावतमा समस्या भोगेको भन्दै पुल निर्माणको लागि भारतसँग पहल गर्न माग गरिएको छ । यहाँका अन्य क्षेत्रमा तुइन विस्थापन अन्तर्गत झोलुङ्गे पुल निर्माण भएपनि दुम्लीङ र सीतापुलमा पक्की झोलुुंगेपुल निर्माणको लागि ठोस पहल गर्न पनि प्रधानमन्त्रीसंग आग्रह गरिएको छ ।
अपिहिमाल गाउपालिकाको खण्डेश्वरी र घुसालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र अपि बेस क्याम्प क्षेत्रमा पर्यटकीय कार्यक्रम सञ्चालनको लागि माग गरिएको छ । राष्ट्रकै सातौ धाम मालिकार्जुनलाई राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यमा समावेश भै क्रमागत रुपमा बजेट विनियोजन भएकोमा हाल सो कार्यक्रम स्थगित भएकोले पुनः सञ्चालनको लागि माग गरिएको छ ।
२०७० सालको महाकाली बाढीबाट क्षतिग्रस्त भू–भाग मध्ये महाकाली नगरपालिका वडा नम्बर १ को कलौन, श्रीबगर लगायत जिल्लाका विभिन्न ठाँउहरुमा तटबन्ध निर्माण र नदी नियन्त्रण कार्य बाँकि रहेकोले ति ठाँउहरुमा बाँकि रहेको कार्य पुरा गर्न आवश्यक श्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयलाई निर्देशन गर्न पनि माग गरिएको छ ।