महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले महिला जागरुक भएमात्रै समाज परिवर्तन सम्भव रहेको बताएकी छिन् । महिला सशक्तिकरण कार्यक्रमको उद्घाटन गर्न पौनेखोला बस्ती पुगेकी विष्टले यस्तो बताएकी हुन् ।
महाकाली नगरपालिका उपप्रमुख सँग महिला सशक्तिकरण तथा वृत्तचित्र निर्माणको लागि गाउँ गाउँ पुग्दै उपमेयर विष्टले महिला स्वयंमले परिवर्तनको लागि अगाडि बढ्नुपर्ने धारणा राखिन् । दुई दिनमा उपप्रमुख विष्टले महाकाली नगरपालिका वडा नम्बर २ को मैखोली, वडा नम्बर ३ को काटै तथा वडा नम्बर ६ को पौनेखोला बस्तीमा भएका कार्यक्रममा पुगेकी छिन् ।
महिला अधिकारबारे जानकारी नहुँदा पनि महिला समाजमा पछि परेको भन्दै अधिकारबारे सशक्तिकरण गरिएको उनले बताइन् । महिलाको हातमा धेरै काम छ । तर महिलाले नै यो समाजको अवस्था परिवर्तन गर्न सक्छन् उनले भनिन्, ‘महिलाले अब घरमामात्रै सीमित नभई अब अधिकारबारे समेत जागरुक हुनुपर्ने बेला आएको छ ।’
महिला सशक्तिकरण कार्यक्रममा दार्चुला बहुमुखी क्याम्पस खलंगाका उपप्राध्यापक धाना धामीले महिला अधिकारको बारेमा प्रशिक्षण गरेकी छिन् । यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले घरेलु हिंसा, महिला हिंसा, बालविवाह, बहुविवाह लगायतका विषयमा प्रशिक्षण गरे । पत्रकार लोग्शरी कुवँरले महिला सूचना र सुशासनको बारेमा प्रशिक्षण गरेकी छिन् ।








