आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने सरकारले निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा झन्डै ६० हजार रुपैयाँ खर्च हुने गरेको थियो ।
वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद् बैठकको खाजा कटौती भएसँगै वार्षिक झन्डै ६० लाख रुपैयाँ जोगिने भएको छ । मन्त्रिपरिषद् बैठकमा अब सामान्य खाजा खुवाउन शुरु गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो।