दार्चुलाको गोकुलेश्वर विमानस्थलमा माटो भर्ने सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएको छ । डेढ वर्ष अघि देखि केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माण गरेपछि अहिले धावनमार्गमा सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएको कम्पनीका साइट इन्चार्ज राजेन्द्र सिह ऐरले जानकारी दिनु भएको छ ।
तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर विमानस्थल पुनःनिर्माण गरिएको उहाँले बताउनु भयो । ठेक्का सम्झौताको काम सम्पन्न भएपछि अब विमानस्थलमा ग्राभील र पिच गर्ने काम बाकी रहेको बताइएको छ । विमानस्थलमा माटो भर्ने सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएपछि अब कालोपत्रेको काम सुरु हुने आयोजनाले जनाएको छ । यसका लागि नागरिक उडड्यन प्राधिकरणले पुन अर्को टेन्डर आह्वान गर्ने जनाएको छ ।
उडड्यन प्राधिकरणले कालोपत्रेसंगै विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइट अफिस लगायत निर्माण कार्यका लागि अर्को टेन्डर आह्वान गर्ने जनाएको छ । विसं २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मंसिर २२ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो ।अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झन्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । द्वन्द्वकालदेखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ ।