दार्चुला । दार्चुलामा मदिराको सुरमा वडा कार्यालयमा कर्मचारीहरुसँग अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउँपालिका–१ का ईयरकोटका रोशन ठगुन्ना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार ठगुन्नालाई आइतबार पक्राउ गरेर जिल्ला ल्याइएको छ । घट्ना गत शुक्रबारकाे हाे ।
ठगुन्नाले वडा कार्यालयमा मदिरा सेवन गरेर अश्लिल हर्कत देखाएको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो ।

मदिराले लठ्ठिएका ठगुन्नाले वडा कार्यालयमा सामाजिक परिचालकका रुपमा कार्यरत कलावती ठगुन्नासँग मदिरा सेवन गरेर विवाद गरेका थिए । नातामा दिदी समेत पर्ने कलावतीले रोशनले मदिरा सेवन गरि आफ्नै छोरामाथि कुटपिट गरिरहेको देखेपछि कुटपिट नगर्न भनेकी थिइन् ।

प्रहरीकाअनुसार ठगुन्नाले आफ्नो छोरालाई जे पो गरौँ भन्दै उनीसँग विवाद गरेका थिए । वडा कार्यालय नजिकै घर भएका ठगुन्ना त्यसपछि कार्यालयमा प्रवेश गरेका थिए । कार्यालय प्रवेश गरेका ठगुन्नाले सामाजिक परिचालक कलावती ठगुन्ना, कार्यालय सहयोगी दानसिंह ठगुुन्नासहितका कर्मचारीको सामु के गछौँ भन्दै अश्लिल हर्कत देखाएका थिए ।
माथिल्लो शरीरमा लुगा नलगाएको अवस्थामा त्यहाँ पुगेका उनले तल्लो शरीरको लुगा समेत फुकालेको सार्वजनिक भिडियोमा देखिन्छ । उनको उक्त हर्कतबारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी पक्राउ गर्न बाध्य भएको हाे ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक कार्यालयमा अश्लिल हर्कत देखाउने ठगुन्नालाई नियन्त्रणमा लिएपनि किटानी जाहेरी नआएको जनाएको छ ।











