दार्चुला — नौगाड गाउँपालिका–२ खारकी किसान सरस्वती डोबाल मन्यालले गत वर्ष टमाटर र आलु बिक्री गरेर सात लाख रुपैयाँ आम्दानी गरिन् । दल्लेखबाट सदरमुकाम खलंगा पुगेर आफ्नै बारीमा उत्पादन भएको तरकारी बिक्री गर्दा उनले राम्रो आम्दानी गरिन् । तर, उत्पादनसँगै बजार र सडक समस्याले किसानलाई उत्तिकै पीडा दिएको छ ।
तरकारी खेतीमै निर्भर बनेकी सरस्वतीले खेतमा अन्य खेती गर्न छोडेकी छन् । तर उत्पादन भण्डारण र बिक्री व्यवस्थापन नहुँदा हरेक वर्ष समस्या झेल्नुपरेको उनको गुनासो छ । बर्खायाममा खार–खलंगा सडक प्रायः अवरुद्ध हुने भएकाले तरकारी बजारसम्म पु¥याउन कठिन हुने गरेको छ ।


‘गाडी नचल्दा पिठ्युँमा बोकेर तीन–चार घण्टा हिँडेर खलंगा पुग्नुपर्छ,’ उनले भनिन्, ‘एकैपटक ८–१० क्रेट टमाटर पाक्छ । बजारमा सबै बिक्री हुँदैन, व्यापारी खोज्दै घरघर धाउनुपर्छ ।’
सरस्वतीले आफ्ना छोरा मिलन मन्याल र छोरी सोनिया मन्यालको पढाइ खर्च पनि तरकारी खेतीबाटै धानेकी छन् । तर सडक, बजार र उचित मूल्य नपाउँदा कहिलेकाहीँ निराश बन्नुपर्ने अवस्था आउने गरेको उनी बताउँछिन् । ‘यो वर्ष असिनापानीले पोलिहाउसमा ठूलो क्षति ग¥यो,’ उनले भनिन्, ‘त्यो बेला निकै रोएँ ।’


खारकै अर्का किसान नारा मन्यालले गाउँमै उत्पादन भएको अर्गानिक टमाटर कहिलेकाहीँ प्रतिकेजी ५० रुपैयाँमा पनि बिक्री नहुने बताउँछिन् । ‘एकैपटक गाउँभरि टमाटर र आलु उत्पादन हुन्छ,’ उनले भने, ‘तर पर्याप्त बजार छैन ।’ बजार नहुँदा लागत अनुसारको मूल्य पाउन सकिदैन् ।
खलंगा मात्रै मुख्य बजार क्षेत्र भए पनि व्यापारीले एकमुष्ट खरिद नगर्ने किसानहरूको गुनासो छ । गत वर्ष एक क्रेट तरकारी ढुवानी गर्न गसय रुपैयाँ भाडा लाग्ने गरेको थियो भने यात्रु भाडा थप ४ सय रुपैयाँ थियो ।
डाँडाबाग बहुउद्देश्यीय कृषि समूहमा मात्रै २५ भन्दा बढी परिवार आबद्ध छन् । समूहका अध्यक्ष धनसिंह सितोलीका अनुसार समूहले हरेक वर्ष ५०–६० क्विन्टलभन्दा बढी टमाटर बिक्री गर्दै आएको छ ।

‘उत्पादन राम्रो भए पनि बजार र मूल्यको समस्या छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण रोगव्याधी बढेको छ, असिनापानीले क्षति पु¥याउँछ । कोल्ड स्टोर नहुँदा अफ–सिजनमा बिक्री गर्न सकिँदैन ।’
उनका अनुसार यहाँ उत्पादन हुने तरकारी पूर्ण रूपमा जैविक र विषादीरहित छन् । एउटा पोलिहाउसमा एउटै बोटबाट ५ देखि १० किलोसम्म टमाटर उत्पादन हुने गरेको छ ।

स्थानीय किसानहरूले प्रत्येक घरमा ५ देखि ७ वटासम्म पोलिहाउस निर्माण गरी तरकारी खेती गर्दै आएका छन् । नौगाड गाउँपालिकाले यस क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । कृषि शाखा प्रमुख प्रकाशसिंह धामीका अनुसार अहिले पकेट क्षेत्रमा १५० भन्दा बढी पोलिहाउस सञ्चालनमा छन् ।
‘आगामी आर्थिक वर्षमा एक किसानलाई १० वटासम्म पोलिहाउस विस्तार गर्ने योजना छ,’ उनले भने, ‘रोग व्यवस्थापनका लागि प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।’
किसानको बारीमै पुगेर सिडिओको अनुगमन
किसानको समस्या बुझ्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल कृषि तथा भेटेरिनरी शाखाका प्राविधिक र जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपसहित दल्लेखको तरकारी पकेट क्षेत्र पुगेका थिए । कृषि ज्ञान केन्द्र दार्चुलाको आयोजनामा नौगाडको तरकारी पकेट क्षेत्रको जिल्लास्तरीय अनुगमन भएको हो । अनुगमनको क्रममा टोली दल्लेख पुगेको थियो ।

अनुगमनका क्रममा किसानहरूले सडक, बजार, ढुवानी, सिँचाइ र रोग व्यवस्थापनका समस्या राखेका थिए ।
सरस्वती मन्यालले सडक अवरुद्ध हुँदा पाकेको टमाटर सड्ने गरेको गुनासो गरिन् । ‘हामीलाई नियमित सडक सञ्चालन र ढुवानी भाडा व्यवस्थापन चाहिएको छ,’ उनले भनिन् ।
समूहका अध्यक्ष सितोलीले दल्लेखको अर्गानिक तरकारी समयमै बजारमा पु¥याउन सडक स्तरोन्नति आवश्यक रहेको बताए ।
‘सडक कालोपत्रे भए आधा घण्टामै बजार पुग्न सकिन्छ,’ उनले भने, ‘अहिले खेतसम्म पुग्ने राम्रो पैदल बाटो समेत छैन ।’
प्रमुख जिल्ला अधिकारी पौडेलले सडक सुधारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए । ‘सकेसम्म सडक नियमित सञ्चालन हुने गरी प्रयास भइरहेको छ,’ उनले बताए ।

जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप) ले किसानको समस्या समाधानको लागि आफुले गर्नुपर्ने पहल कदमी लिने बताए । किसानले उत्पादन गरेन भने बजारमा के जान्छ, किसानलाई सेवा सुविधा दिने बारेमा सबैले सहयोग गर्नुपर्छ उनले भने ।
किसानको खेतसम्म फुटपाथ बनाउने गाउँपालिकाको आश्वासन
नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले दल्लेखका किसानले जिल्लाकै उत्कृष्ट काम गरिरहेको भन्दै किसानको खेतबारीसम्म पुग्ने फुटपाथ निर्माण गरिने बताएका छन् ।

‘आगामी आर्थिक वर्ष ०८३÷०८४ मा बजेट विनियोजन गरेर बाटो बनाउँछौँ,’ उनले भने, ‘किसान समूहले माग राख्नुपर्छ, गाउँपालिकाले सक्दो सहयोग गर्छ ।’ एक फुटको बाटो भए पनि मान्छे हिड्ने बनाउनुपर्छ । जिल्लाकै उत्कृष्ट समूह भएका कारण पनि धेरै जसोको ध्यान यो क्षेत्र अनुगमन गर्ने हुन्छ । किसानले अझै राम्रो गर्दै जाने हो भने गाउँपालिका सहयोग गर्न तयार नै उनले भने ।








