दार्चुलाको न्वालपानीमा लिफ्टिङ प्रविधिबाट पुग्याे खानेपानी

दार्चुला — ‘मलाई पानीको ट्यांकी चाहियो, एउटा घरमा ट्यांकी बनाइदिनु यत्ति बिन्ती छ ।’
यो आग्रह हो मालिकार्जुन गाउँपालिका–२ की ८६ वर्षीया लाटीदेवी धामीको । जीवनको अधिकांश समय पानीकै अभावसँग संघर्ष गर्दै बिताएकी धामीको घरआँगनमा बल्ल खानेपानीको धारा पुगेको छ ।

समुद्री सतहबाट करिब ३५०० मिटर उचाइमा रहेको न्वालपानी गाउँमा सोलार सिस्टममार्फत लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएको हो । खानेपानी योजना हस्तान्तरणका लागि प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना र गाउँपालिका अध्यक्ष हिरासिंह धामी गाउँ पुगेका बेला लाटीदेवीले कुनै ठूलो माग गरिनन् । हातमा फूलको माला र अविर लिएर स्वागत गर्दै उनले भनिन्, ‘अब मेरो अरु माग केही छैन, एउटा सानो ट्यांकी बनाइदिनु ।’

लाटीदेवीको जीवन पानीकै खोजीमा बित्यो । आकाशे पानी, कुवा र घण्टौं हिँडेर पानी बोक्ने दिनहरू उनको दैनिकी थियो । अहिले भने घरआँगनमै धारा जडान भएपछि उनी खुसी छिन् । ‘जिन्दगीभर पानीकै दुःख गरियो, अहिले आएर आँगनमै धारा देख्न पाइयो,’ उनले भनिन्, ‘अब एउटा ट्यांकी भए अझ सजिलो हुन्थ्यो ।’

स्थानीय राजेन्द्र विष्टले विगत सम्झँदै भने, ‘घरका दुई–तीन जनाको दिनभरको समय पानी बोक्नमै बित्थ्यो ।’ घरायसी काम, पशुचौपाया र सरसफाइका लागि अत्यावश्यक पानीको अभावले गाउँलेको दैनिकी कष्टकर बनेको थियो । ‘खानेपानी पु¥याउन सबैले श्रम गरेका कारण छोटो समयमा गाउँमा पानी ल्याउन सफल भयौं,’ उनले खुसी व्यक्त गरे ।

८० वर्षीय कल्यानसिंह धामीले पनि गाउँमा पानी पुगेपछि राहत महसुस भएको बताए । ‘हाम्रो जीवन ‘पानी–पानी’ भन्दै बित्यो, अहिले आएर त्यो शब्द नै छुटेको छ,’ उनले भने । उनका अनुसार पहिले बालबालिकाको समय समेत पानी बोक्नमै खर्चिनुपर्थ्यो । अहिले त्यो समस्या हट्दै गएको छ । उनले योजनाको दीर्घकालीन सञ्चालन र मर्मत व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

वडाअध्यक्ष गणेशसिंह धामीका अनुसार खुना मुहानबाट पाँच चरणमा पानी लिफ्ट गरेर गाउँसम्म ल्याइएको हो । ‘सोलार सिस्टममार्फत पम्पिङ गरेर पानी चढाइएको छ,’ उनले भने, ‘अर्को एक स्टेप थप्न सके पानीको फोर्स अझै बढ्छ ।’ विगतको तुलनामा पानीको अभाव घटेको छ । अझै नियमित रुपमा सञ्चालन र व्यवस्थापन महत्वपूर्ण रहन्छ । खानेपानी व्यवस्थित गर्न अझै थोरै बजेटको आवश्यकत्ता उनले औल्याए ।

खानेपानी योजनाको नियमित सञ्चालन र मर्मत सम्भारका लागि गाउँमा दुई जना चौकीदार नियुक्त गरिएको छ । मासिक महसुल संकलन तथा मर्मत कोषसमेत सञ्चालनमा ल्याइएको वडाअध्यक्ष धामीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष हिरासिंह धामीले लिफ्टिङ खानेपानी योजनामा मोटर बिग्रिने समस्या धेरै हुने भएकाले आगामी दिनमा इलेक्ट्रोनिक मोटर जडान गर्ने योजना रहेको बताए । उनले पानीको सही उपयोग र मर्मत सम्भारमा गाउँबासीले विशेष ध्यान दिन आग्रह गरे ।

सम्बन्धित समाचार

ताजा समाचार