यार्सागुम्बा संकलनका लागि दार्चुलामा अनुमति लिने घटे

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि अनुमति लिने संख्या घटेका छन् । यो वर्षको वैशाख दोस्रो सातादेखि नै यार्सागुम्बा संकलन सुरु भएको भए पनि अनुमति लिएर भने संकलन गर्न गएका छैनन् । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार हालसम्म १३८ जनाले मात्रै पूर्जी लिएका छन्।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले वैशाख अन्तिम सातादेखि अनुमति पत्र वितरण सुरु गरेको थियो । कार्यालयका सूचना अधिकारी अरुण चौधरीका अनुसार हाल वितरण गरिएका सबै अनुमति पत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरिएको ‘निलो कार्ड’ हुन्। संकलनकर्ताको सहजताका लागि कार्यालयसहित जिल्लाका ११ स्थानबाट अनुमति पत्र वितरण भइरहेको छ।
संरक्षण क्षेत्रले भौगोलिक अवस्थाअनुसार तीन प्रकारका परिचयपत्र र शुल्क निर्धारण गरेको छ। संरक्षण क्षेत्रभित्रका स्थानीयका लागि निलो कार्ड बापत प्रतिव्यक्ति ५०० रुपैयाँ, दार्चुला जिल्लाभित्रका अन्य नागरिकका लागि पहेंलो कार्ड बापत २ हजार रुपैयाँ तथा जिल्ला बाहिरका नागरिकका लागि रातो कार्ड बापत ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।
यार्सागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्सागुम्बा पाइने पाटनहरू प्रत्येक वर्ष जेठ १५ गतेदेखि असार १५ गतेसम्म मात्र खुला रहने व्यवस्था छ। तर अनुमति अवधि सुरु हुन बाँकी रहे पनि केही स्थानीयवासी भने वैशाखदेखि नै हिमाली पाटनतर्फ पुगेर संकलनमा जुटिसकेका छन्।
दार्चुलाका लोलु, अपीफेद, रोखापु, बयली, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षतिनाम्पा, दोपाखे र दुम्लिङ क्षेत्र यार्सागुम्बा पाइने प्रमुख पाटनका रूपमा परिचित छन्। संरक्षण क्षेत्र कार्यालयले अनुमति बिना यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन नगर्न र कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
तर स्थानीय हजारौंको संख्यामा पाटनमा छन् । यार्सागुम्बा संकलन अघि अनिवार्य अनुमति लिनुपर्ने प्रावधान भए पनि संलकहरु अनुमति बीना नै लेकतिर संकलन गरिरहेका छन् । प्रमुख संरक्षण अधिकृत अमरसिह धामी सबै संकलकहरुले यार्सागुम्बा संकलनको लागि अनुमति लिनुपर्ने बताउँछन् । उनले भने, संरक्षण क्षेत्रभित्र अनुमति पूर्जी नलिएरै जान पाइदैन् ।

सम्बन्धित समाचार

ताजा समाचार