दार्चुला — दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा नं. २ अन्तर्गत हिकिला स्थित गोकुलसेरा क्षेत्रमा पर्ने दार्चुला–तिंकर सडक खण्ड स्थानीयले बन्द गरेका छन् ।
सडक तथा नाली निर्माणमा भएको लापरबाहीका कारण वर्षायाममा बस्ती डुबानमा पर्ने समस्या बढ्दै गएपछि स्थानीयले सडक बन्द गरेका हुन् ।
स्थानीय नरेन्द्र बडालका अनुसार सडक निर्माण कार्य दीर्घकालीन योजना र गुणस्तरीय नबनाउदा बस्ती जाेखिममा परेकाे छ ।
ठेकेदार पक्षले असार मसान्ततिर मात्रै काम गरेको देखाउने तर दिगो संरचना निर्माण नगर्ने प्रवृत्तिका कारण समस्या बढेकाे उनी बताउँछन् ।

सडकमा निर्माण गरिएको नाली विभिन्न स्थानमा फुटेको, चुहिने तथा पानीको उचित निकास नभएको अवस्थामा छ। यसले गर्दा वर्षायाममा बस्ती र सडक दुवै जोखिममा पर्ने अवस्थामा पुगेकाे स्थानीय बताउँछन् ।
सडकको सतहसमेत कमजोर हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ उत्पन्न भएको स्थानीयले बताएका छन्।
सडक बन्द हुँदा व्यास र दुहुँमा चल्ने सवारीसाधन बाटाेमै राेकिएका छन् ।











