श्रमदानमार्फत महाकालीमा पुल बनाउने घोषणा गरेर प्रतिस्थापन गर्ने भनेर दार्चुलाको दुम्लिङ पुगेका हर्क साम्पाङ धरधरी रोएका छन् । दुम्लिङबासीको पीडा सुनेर उनी भक्कानिएका हुन् ।
संसदबाट केही दिनको छुट्टि लिएर हर्क दुम्लिङ पुगेपछि स्थानीयले सम्मान कार्यक्रम राखेका थिए । साेमबार राती खलंगा पुगेर मंगलबार बिहानै हर्क दुम्लिंग हिडे । उनले ठाउँ ठाउँमा फेसबुक स्टाट्स राख्दै गए भने सम्मान स्वागत पनि पाए । व्यास गाउँपालिका सुनसेरा पुग्दा गाउँपालिका उपाध्यक्ष बिनाेदसिह कुवरले स्वागत गरे ।

हर्कलाई स्थानीयले खदा, माला र स्थानीय संस्कृति अनुसार फेटा पहिर्याइदिए, टीका लगाइदिए । कार्यक्रमको सुरुवातमा स्थानीयबासीको तर्फबाट कौशिला बुढाथोकीले सम्बोधन गरिन् । उनले हर्क साम्पाङ आफ्नो गाउँमा आएपछि खुसीका दिन आउने अपेक्षा राखिन् ।
लिखित पत्र पढ्दै उनले भनिन्, ‘अब हाम्रा खुसीका दिन सुरु हुनेछन् । सडक निर्माण हुनेछ । हाम्रो गाउँ तुइनमुक्त हुनेछ । पुल निर्माण हुनेछ । तुइनबाट ज्यान गुमाउने अवस्था कसैको पनि आउने छैन । गाउँका कोही पनि टुहुरा, विधवा हुने दिन आउने छैन ।’
साथै आफ्नो गाउँको आवाज उठाइदिएकोमा हर्कलाई धन्यवाद दिँदै गाउँलेको तर्फबाट ज्ञापनपत्र बुझाइन् । ज्ञापनपत्र बुझाउँदै मागहरु पनि पढेर सुनाइन् ।
ज्ञापन पत्र यस्ताे थियाे ।
– महाकाली नदीमा तुइनमुक्त घोषणा गरौं । हामीले धेरै दुःख पाइरहेका छौं । सबै कुरामा भारतमा निर्भर छौं । यो कुराको हल गरिदिनु होला ।
– तुइनबाट खसेर अकालमै ज्यान गुमाएका परिवारको शिक्षाको व्यवस्थापन गरिदिनुहुन अनुरोध गर्दछौं ।
– एनटिसीको नेटवर्क दिनमा मात्र राम्रोसँग टिप्छ, राति टिप्दैन । यहाँ दुम्लिङ डाँडामा एउटा टावर राखिदिनु हुन अनुरोध गर्दछौं ।
– व्यास गाउँपालिका तल्लो दुम्लिङको महाकालीले क्षति पुर्याएकाले बाँधको व्यवस्थापनबारे कुरा उठाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
कौशिलापछि रोश्ना बुढाथोकीले आफ्नो कुरा राखिन् । गत असार ३१ मा रोश्नाको छोरा नारायण बुढाथोकीको तुइनबाट खसेर मृत्यु भएको थियो । नारायण भारतको बजारमा किनमेल गरेर फिर्ने क्रममा महाकाली नदीमा खसेका थिए ।
रोश्नाले थर्थराएको स्वरमा हर्कसामु आफ्नो वह पोखिन्, ‘मेरो छोरा नारायण बितेको नौ महिना भएको छ । मेरो एउटै मात्र छोरा थियो । अर्की चाहिँ छोरी छे । बुहारी छे । त्यसबेला बुहारी सुत्केरी थिई । सामान ल्याउँछु भनेर नारायण बजार गएको थियो । सामान बोकेर फिर्ने क्रममा तुइनबाट खस्यो । मेरो जीवन सानैदेखि दुखैदुःखमा बितेको छ । तीनवटा छोरा थिए, सबै बिते । बुढा ९श्रीमान० पनि छैन । कति दुःख गरेर, भारी बोकेर, मल बोकेर छोरा हुर्काएकी थिएँ, मर्यो । छोरी पराई घर जाने भइहाली । म कहाँ जाने, के गर्ने हो हजुर । कसले मेरो पीडा बुझिदिने १ हजुृरहरु आउनुभएको छ । धेरै बोल्न त जान्दिनँ, यति नै दुई शब्द बोल्छु भनेर आएकी हो ।’
रोश्नाको पीडा सुनेपछि हर्कले आफूलाई सम्हाल्न सकेनन् । मन्चमै भक्कानिए । आँसु पुछ्दै बोले, ‘भन्नलाई मेरो केही शब्द छैन । तपाईंहरुले भनिहाल्नुभयो, मैले महसुस गरेँ । पुल बनाउँछौं । तपाईहरुलाई सकेको सहयोग गर्छौं । म केही भन्न सक्ने स्थितिमा छैन ।’







