दार्चुलामा निर्वाचन सुरक्षाको लागि तीन वटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा गस्ती थालेका हुन् ।
जिल्लामा ११२ मतदान स्थल र १४३ मतदान केन्द्र छन् । ती स्थलको अनुगमन तथा त्यस ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभुतिका लागि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
उनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गरिएको छ । उनीहरुले हरेक ठाउँमा नियमित चेकजाँच, इजाजत प्राप्त हतियारहरुको संकलन, अवैध मदिरा नियन्त्रणको लागि बजार पसल अनुगमन, अवैध मदिरा बरामद गरी नष्ट तथा मतदानस्थलहरुको नियमित रुपमा अनुगमन भइरहेको उनले बताए ।

जिल्लाभरि सुरक्षाको अवस्थाको निरन्तर मूल्यांकन तथा निरीक्षणको काम चलिरहेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार निर्वाचनको विषयमा आवश्यक निर्देशन दिन सुदूरपश्चिम प्रदेशका मुख्य सचिव बैकुण्ठ प्रसाद अर्यालले दार्चुला पुगेर आवश्यक चुनावी तयारीबारे निर्देशन दिएका छन् ।


नौगाड गाउँपालिका–१ को नागुका स्थानीयले नो भोट भने पछि त्यहाँको निर्वाचनको विषयमा समेत बैठकमा छलफल भएको उनले बताए । अहिलेसम्म नागुका स्थानीय मतदान गर्न तयार छैनन, उनले भने, व्याँस गाउँपालिका–२ का स्थानीय भने मतदान गर्न तयार भएका छन् ।


दार्चुलामा निर्वाचनका लागि ८ सय ५६ जना कर्मचारी खटाइए
फागुन २१ गते हुने निर्वाचनका लागि दार्चुलामा ८ सय ५६ जना कर्मचारी खटाइएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा निर्वाचनका लागि खटिने कर्मचारीहरुको अन्तिम सूची प्रकाशन गरेको छ ।
सहायक निर्वाचन अधिकृत विष्णु अवस्थीका अनुसार एउटा मतदान केन्द्रमा ६ जनासम्म कर्मचारी परिचालन गरिएको छ । दुई वटा अस्थायी मतदान केन्द्रमा तीन तीन जना कर्मचारी खटाइएको छ ।
निर्वाचनका लागि खटाइएका कर्मचारीहरुलाई यही फागुन १३ र १४ गते तालिम दिएर मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले जानकारी दिए । धामीका अनुसार पहिलो चरणमा अपिहिमाल गाउँपालिकाका १० वटा, व्याँस गाउँपालिकाका १३ वटा, मार्मा गाउँपालिकाका १७ वटा, लेकम गाउँपालिकाका १७ वटा र नौगाड गाउँपालिकाका १४ तथा अस्थायी मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिमको आयोजना गरिएको छ । यस्तै दोस्रो चरणमा महाकाली नगरपालिकाका २० वटा, शैल्यशिखर नगरपालिकाका २३ वटा, मालिकार्जुन गाउँपालिकाका १८ वटा, दुहुँ गाउँपालिकाका ११ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम आयोजना गरिएको उनले बताए ।
प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा १ सय १२ वटा मतदान स्थल र १४३ वटा मतदान केन्द्र तोकिएको छ ।
जिल्लामा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष गरी कुल ९२ हजार ९४८ मतदाता रहेका छन् ।






