दार्चुला : नेकपा (एमाले) दार्चुलाका उम्मेदवार गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित प्रचार–प्रसार कार्यक्रमलाइ निरन्तरता दिइरहेका छन् । कार्यकर्ता तथा शुभचिन्तक भेटघाट कार्यक्रम अन्तर्गत सोमबार मालिकार्जुन गाउँपालिका–१ मेलखेत क्षेत्रका अगुवा कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट गरेका छन्।
टोलीले मेलखेत अन्तर्गत भर्तोला, डुङ्री, सुत्तने र रेवलीका स्थानीयसँग संवाद गर्दै निर्वाचन केन्द्रित छलफल गरेको एमालेले जनाएको छ। कार्यक्रममा सहभागीहरूले ठगुन्ना जस्तोसुकै परिस्थितिमा पनि जनतासँग निरन्तर सम्पर्कमा रहने नेताका रूपमा स्थापित भएको भन्दै निर्वाचनमा एकढिक्का भएर लाग्ने कार्यकर्ताले बताएका छन् । जनताप्रतिको व्यवहारका कारण जिल्लामा एमाले उम्मेदवार ठगुन्नाप्रति आम मतदाताको विश्वास अझ बलियो बन्दै गएको कार्यकर्ताहरुको भनाई छ ।
यसैबीच, नेकपा (एमाले) को नीति र नेतृत्वबाट प्रभावित भएर स्थानीय करन सिंह बोहरा, रतन सिंह बोहरा र गोपाल सिंह बोहराले एमालेको पार्टीमा संगठित सदस्य बनेका छन्। त्यस्तै, ‘घर फर्क अभियान’ अन्तर्गत रेवलीका दानसिंह धामीसहित १५ जना एमालेमा फर्किएका छन् ।
नवप्रवेशीहरूलाई प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए। मालिकार्जुन गाउँपालिकामा पछिल्लो समय हरेक वडाबाट एमाले प्रवेश गर्ने लहर बढेको छ ।








