दार्चुला — मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको स्थानीयस्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
माघ १४ देखि १८ गतेसम्म मालिकार्जुन गाउँपालिका-३ स्थित खेलमैदानमा प्रतियाेगिता सम्पन्न भएको हाे ।
प्रतियोगितामा शंकरपुर माध्यमिक विद्यालय, पस्ती सर्वाधिक पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा शंकरपुर माविले स्वर्ण, रजत र कास्य गरी जम्मा १९ पदक जित्दै शीर्ष स्थान सुरक्षित गर्यो।
त्यसैगरी श्री मालिकार्जुन माध्यमिक विद्यालय, मड ले १२ पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने श्री कृष्ण माध्यमिक विद्यालय, डाडाकोट ले ११ पदक जित्दै तेस्रो स्थान हात पारेको छ।
खेलकुदमार्फत विद्यार्थीको प्रतिभा विकास र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका छात्र–छात्राले दौड, एथलेटिक्स, टिम खेललगायतका विभिन्न विधामा उत्साहजनक सहभागिता जनाएका थिए।
गाउँपालिकाका प्रतिनिधिहरूले आगामी वर्ष प्रतियोगितालाई अझ व्यवस्थित, प्रविधिमैत्री र व्यापक सहभागितासहित सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हिरासिह धामीले प्रतियोगितालाई सफल बनाउने सम्पूर्ण खेलाडी, शिक्षक, अभिभावक, कर्मचारी, स्वयंसेवक, सुरक्षा निकाय तथा सहयोगी संघसंस्थाप्रति आभार व्यक्त गरे । उनले खेलाडीहरूले देखाएको खेल कौशल, अनुशासन र समर्पणले गाउँपालिकाको खेलकुद इतिहासमा नयाँ अध्याय थपिएको उल्लेख गरे। “हार–जीत खेलको हिस्सा हो, तर अनुभव र सिकाइ नै सबैभन्दा ठूलो जित हो,” अध्यक्ष धामीले भने, “आजको प्रतियोगिताले यहाँका खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिएको छु।”
अध्यक्ष धामीले मालिकार्जुन गाउँपालिका आगामी दिनमा खेलमैदान निर्माण, तालिम, खेल सामग्री तथा अवसर विस्तारमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार युवालाई खेलकुदमार्फत स्वस्थ, अनुशासित र सक्षम बनाउने लक्ष्यसहित पालिका अघि बढिरहेको छ।







