दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले पालिकाभित्रका नागरिकको आवत–जावत सहज बनाउने उद्देश्यले गाउँ बस सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभित्र सेवा दिने गरी सुरु गरिएको उक्त बस सेवा सुकेखोला–खार–सुकेखोला रुटमा सञ्चालन हुने नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले जानकारी दिए।
पालिकाको केन्द्रसम्म गाउँपालिकाको कामकाजका लागि आउने सेवाग्राही, नौगाड अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बैंकिङ सेवा लिन आउने नागरिकको सुविधालाई ध्यानमा राखेर गाउँ बस सेवा सुरु गरिएको अध्यक्ष धामीको भनाइ छ ।
“यो बस सेवा नाफामुखी होइन, सेवामुखी हो,” उनले भने, “नागरिकको सहजतालाई केन्द्रमा राखेर सञ्चालन गरिएको हो ।” अहिले बाहिर ठाउँ भन्दा सेवा लिने नागरिकको सेवालाई ध्यान दिएर बस सेवा सुचारु गरिएको छ ।
बस सेवा सुरु भएसँगै स्थानीय नागरिकले सस्तो भाडामा यात्रा गर्न पाएका छन् । यसअघि जीपको भाडा महँगो रहेको उल्लेख गर्दै अध्यक्ष धामीले बस सञ्चालनपछि भाडादर उल्लेख्य रूपमा घटेको बताए । नौगाडका नागु, इयरकोट लगायतका विकट वस्तीबाट सेवा लिन आउने नागरिकले खारमा बिहान गाउँ बस चढेर दिउँसो नै काम सकेर घर फर्किन पाउने अवस्था बनेको छ ।
दल्लेखसम्म सडक सुचारु भएपछि थप एक बस सञ्चालन गर्ने तयारीसमेत गाउँपालिकाले गरेको छ । हाल बस सेवा बिहान ८ः३० बजेदेखि बेलुकी ४ बजेसम्म नियमित रूपमा सञ्चालन भइरहेको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले जानकारी दिए । जीप र अटो लिने भाडा भन्दा निकै सस्तो पालिकाको बसमा टिकट तोकिएपछि नागरिक खुसी छन् ।
नियमित बस सेवा सुरु भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । नौगाड गाउँपालिका–३ खारका प्रेमसिंह ठगुन्नाले गाउँपालिकामा बस सेवा सञ्चालन हुनु आफैंमा खुसीको विषय भएको बताउँदै यसको निरन्तरता र दिगोपनामा ध्यान दिनुपर्ने धारणा राखे ।
यसैगरी स्थानीय नन्दनसिंह ठगुन्नाले गाउँ बस सेवा नौगाडको सीमासम्म मात्रै सीमित नराखी छिमेकी शैल्यशिखर गाउँपालिकाको गोकुलेश्वर बजारसम्म विस्तार गर्न सके अझ प्रभावकारी हुने बताए । “नौगाडका अधिकांश नागरिक होपरीगाडदेखि गोकुलेश्वरसम्म जाने गर्छन्,” उनले भने, “सबैको सहजताका लागि गोकुलेश्वरसम्म बस सेवा सञ्चालन आवश्यक छ ।” बर्षभरि सडकमा नियमित बस सञ्चालन ल्याउन भने नौगाडमा अझै चूनौति छ ।
नौगाड गाउँपालिकाले चालू आर्थिक वर्षमा करिब ५५ लाख रुपैयाँ खर्च गरेर बस खरिद गरेको हो। गाउँपालिकाको तर्फबाट बस सेवा सञ्चालन गर्ने नौगाड दार्चुला जिल्लाकै पहिलो गाउँपालिका बनेको छ।







