खलंगामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला

दार्चुला सदरमुकाम खलंगामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट संकलन गरिएको नमुनामध्ये चार स्थानको पानीमा इकोली फेला परेको हो ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बीरेन्द्र प्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ । पछिल्लो दुई सातादेखि धमिलो पानी आउने गुनासो बढेपछि मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो । इकोली जीवाणु मानव वा जनावरको मलजन्य दूषित पानीमा पाइने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा असार १५ गते बसेको बैठकले खलंगाको पानीमा समस्या आएको भन्दै परीक्षण गर्न निर्देशन गरेको थियो । सोहिअनुसार स्वास्थ्य कार्यालयको ल्याब टेक्निसियनको टोलीले पानीको गुणस्तर परीक्षण गरेको हो ।


खलंगामा वितरण भइरहेको पानी महाकाली नगरपालिका–३ स्थित गारकुखोलाबाट ल्याइएको हो । एक महिना अगाडि सोही खोलामा मरेको कुकुरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यहि खोलाको पानी सिधै डुङ्गरीस्थित ट्ंयाकीहालेर धारामा पठाइएको थियो । तर टं्याकीमा समेत कलोरिन नराखिदा पानी धमिलो र दुषित देखिएको हो ।
पानीको मूल स्रोत, प्रसोधन युनिट र उपभोक्ताको धारासम्मको पानीमा इकोली पाइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाई छ । पानी प्रयोग गर्दा उपभोक्ता सचेत हुनु आवश्यक छ उनले भने, पानी त्यति राम्रो देखिएको छैन ।
पानीमा क्लोरिनको मात्रा समेत राष्ट्रिय खानेपानी गुणस्तर निगरानी सर्विलेन्स निर्देशिका २०७० र प्रथम संसोधन २०७६ को मापदण्डअनुसार नभएको भन्दै नियमितरूपमा क्लोरिन मिसाएर मात्रै पानी वितरण गर्न खलंगा शहरी खानेपानी आयोजनालाई सुझाव दिइएको छ ।


प्रतिवेदनमा स्वास्थ्य कार्यालयले पानीको मुहान क्षेत्र वरिपरिको सरसफाइ, छेकबार, रेखदेख र वितरण पाइपहरूबाट अन्य दूषित पानी मिसिन नदिन नियमित अनुगमन र निगरानी गर्नुपर्ने सुझाव दिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।


स्वास्थ्य कार्यालयको प्रतिवेदनअनुसार महाकाली नगरपालिकामार्फत खलंगा शहरी खानेपानी आयोजनालाई पानीको गुणस्तर सुधार र सरसफाईमा ध्यान दिन भनिएको छ । साथै सरसफाई सन्देश, उपभोक्तालाई कम्तीमा असार, साउन र भदौंको महिनासम्म खानेपानी सुद्धिकीकरण तथा उमालेर खानेबानीको विकास गर्न सञ्चारमाध्यममार्फत सूचना सन्देश प्रसारण गर्न भनिएको छ ।

स्थानीय र नागरिक समाजको दबाबपछि पानीको गुणस्तर परीक्षण
असार पहिलो साताबाट सदरमुकाम खलंगामा वितरण गरिएको पानी दुषित भएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा लेख्दै आएका थिए । तर दुई सातासम्म कुनै सुनुवाइ नभए पछि स्थानीय र नागरिक समाजले जिल्ला प्रशासन कार्यालयलाई सरोकारवालाको बैठक आह्वान गर्न भन्यो ।
असार १५ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बैठक बोलाउँदै तत्काल खानेपानीमा देखिएको समस्या समाधान गर्न स्थलगत अनगुमन गर्ने तथा पानीको स्याम्पलिङ गर्न निर्देशन भयो ।
असार १६ र १७ गते खानेपानी कार्यालय, उपभोक्ता समिति र स्वास्थ्य कार्यालयको टोलीले संयुक्तरूपमा स्थलगत निरीक्षण गर्दै पानीको नमुना संकलन गरेको थियो । परीक्षणमा राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० (प्रथम संशोधन २०७६) अनुसार पानीको गुणस्तर नपुगेको उल्लेख गरिएको छ ।
खलंगाको महाकाली नगरपालिका वडा नं. ४ र ५ का करिब २,२०० घरधुरीमा गडाकु खोलाबाट ल्याइएको पानी वितरण भइरहेको छ । दूषित पानीको कारण स्वास्थ्यमा गम्भीर असर परेको भन्दै समाधान गर्न आग्रह गरिएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेशराज भट्टले बताए । ‘हामीहरुको निरन्तर खबरदारीको कारण पानीको गुणस्तर परीक्षण र मुहान क्षेत्रको अनुगमन भयो’ उनले भने, ‘यसबाट खलंगामा वितरण गरिएको पानी राम्रो नभएको पाएपछि अहिले सुधारको प्रयास भइरहेको छ ।’ खोलाको सट्टा अहिले मुहानको पानी ट्यांकीमा लगाएर वितरण गरिएको छ ।


दार्चुलामा २०७७÷७८ सालदेखि सुरु गरिएको खलंगा सहरी खानेपानी तथा सरसफाई आयोजनाको लागत २९ करोड रुपैयाँ रहेको छ । निर्माणको जिम्मा ग्वालेक निर्माण सेवाले लिएको भए पनि सम्झौता अनुसार डेढ वर्षमै सकिनुपर्ने आयोजनाको काम सकिएको छैन् ।
खलंगा शहरी खानेपानी आयोजनालाई निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेमा अहिले निर्माण व्यवसायी नै सम्पर्कमा नरहेको खानेपानी उपोक्ता समितिका सचिव खडकसिह धामीले बताए । ‘गत वर्ष हामीले निर्माण गर्न बाकी काम १५ बुद्धामा लेखेर पठाएको छौं,’ उनले भने, ‘तर निर्माण व्यवसायी नै सम्पर्कमा आएको छैन् ।’ खानेपानी आयोजनाको महत्वपूर्ण कामहरु सम्पन्न भएको भए पनि सानातिना कामहरु बाकी थिए । यस्तै निर्माण कम्पनीले प्रयोग गरेको झण्डै ४ सय मिटर परिवर्तन गर्न सुझाव समितिले दिएको थियो । आयोजनाको पाइपहरुमा सपोर्ट राख्नुपर्ने, लाइन खुला राख्न नहुने सुझाव कार्यान्वयन नगर्दा अहिलेसम्म हस्तान्तरण प्रकृया हुन नसकेको धामीको भनाई छ ।
एसियाली विकास बैंकको ७० प्रतिशत अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण तथा बाँकी उपभोक्ताबाट उठाइएको रकमबाट आयोजना सञ्चालन गरिएको हो । आयोजनाअन्तर्गत डुङरीमा राखिएको फिल्टर प्रणालीले समेत प्रभावकारी रूपमा काम नगरेको गुनासो आएको छ ।


पानीमा कुकुर फालिएको भिडियो सार्वजनिक भएपछि स्थानीयवासीहरू खलंगा नजिकैका मुहान पुगेर पानी ल्याउन बाध्य भएका छन् । बर्खायाम सुरु भएसँगै मुहानमा थप प्रदूषण हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले पानी उमालेर वा फिल्टर गरेर मात्रै पिउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार