दीपा भण्डारी :

फेसबुक खोले— एकपछि अर्को खेतका फोटोहरू। हिलोमा रमाउँदै झकास लुगा लगाएका मान्छेहरू।
एकछिन हेरेँ, हाँसेँ पनि। कतै मिडिया रिपोर्टहरू थिए — “धान दिवस उल्लासपूर्वक मनाइयो”, “सहरिया युवाहरू खेतमा”।

तर केहीबेरपछि त्यो रमाइलो दृश्य मेरो मनभित्र गहिरो असहजता भएर बिस्तारै फैलिन थाल्यो।
मलाई याद आयो , मेरो बाल्यकालको त्यो दिन, जब आमाले बिहानै उठाएर खेतमा लग्नुभयो। म सानो थिएँ, खुट्टाले हिलो चिप्लिन्थ्यो, घामले टाउको पोल्थ्यो। आमाको अनुहारमा थकान र बुढ्यौली मिसिएको थियो, तर आमाले भन्नुहुन्थ्यो “बाले बिउ राख्नुभएको थियो, आज नरोप्दा पछि भ्याइन्न।” पानी परेको छ भोलि कुलोमा पालो पाइदैन । त्यो बेला म किसानको छोरी थिएँ — अहिले सहरमा छु, भिजेको हिलो हैन, सुख्खा हिलो हेर्ने आँखाको मान्छे छु ।

तर अहिलेको धान दिवसमा हेर्दा लाग्यो — खेत अब फोटो खिच्ने ग्यालरी बनेको छ, संजालमा प्रतिस्पर्धा चलेको छ , जहाँ किसानहरू पृष्ठभूमिमा हराउँछन्, र अगाडि उभिन्छन् — चिटिक्क मेकअप, रंगीन कुर्ता र ठूला चस्मा लगाएका अनुहारहरू।
एकपटक सोच्न बाध्य छु …
हामीले जसको खेतमा पाइलो राखेर रमाइलो गर्छौं, त्यो किसानको जिन्दगी कस्तो होला? उसले के रोप्छ, के खान्छ, बाढी आयो भने के गर्छ, मल नभए के गरी जोगिन्छ — यी कुराहरू अब कुनै ‘रिपोर्ट’ मा पनि देखिन पाउछु कि । वर्षभरी मेहनत गरेर , पसिना बगाएका किसानको बाली भित्र्याउने बेला जंगलि जनावरले सखाप पार्छ वडा सरकार हुदै स्थानीय सरकार धाउँछ थरिथरीका कागजात मिलाउँछ एक दिन हैन तिनचार दिन दुर्गम ठाउँबाट सहरसम्म पुग्छ तर राहत आउँछ आउदैन मिल्छ मिल्दैन झिनो आसा बोक्दै फेरि बारीमा जान्छ । कस्ले बोलिदिने यी समस्याहरुमा कोहि बोल्यो कि पोल्यो सहन सक्ने क्षमता न त ब्यक्तिलाई न त समाजलाइ नत सरकारलाई ।
अब फेरि सोच्छु किसानलाई हाँस्न मन लाग्दैन र?
पक्कै लाग्दो हो, तर वर्षको एक दिन अरूले रोपेको हेर्दै उभिने उसलाई त्यो दिन पनि काम गर्नै पर्ने बाध्यता हुन्छ। दहीँ चिउरा हामी खाउँछौं फोटो खिच्न, उनी खाँदैनन् — किनभने त्यो दिनको काम पुरा नगरी बाँझो पार्न मिल्दैन। त्यसैले मलाई लाग्छ — धान दिवस अब व्यंग्य बनेको छ । जहाँ खेत हिलोभन्दा बढी सजावट हुन्छ, जहाँ किसानको हातभन्दा बढी क्यामेराको फ्रेम चम्किन्छ, जहाँ पसिना भन्दा बढी पोस्ट हुन्छ।
के हामी धान दिवस मनाउन छौं? वा किसानको पीडामा पर्व बनाइरहेका छौं?
म विरोधी होइन। मलाई पर्व मनाउनु मनपर्छ।
तर त्यो पर्वको सार बुझ्नुपर्छ —धान दिवस भनेको हिलोमा खेल्ने दिन होइन, हिलोमा बाँच्नेहरूलाई सम्झिने दिन हो।
यदि साच्चै मनाउने हो भने मैले कल्पना गर्न मिल्छ होला हामीले किसानका छोरा छोरीलाई स्कुल पठाउन सक्ने बनाउने, हामीले मल बीउ सजिलै पाउने व्यवस्था मिलाउने,
हामीले बजार मूल्यको ग्यारेन्टी दिने
र खेतलाई सेल्फि लिने स्थान नभई रोजगारीको स्रोत बनाउने काम गर्नुपर्छ। के यस्मा कसैले साथ देलान त ?
हामीले रमाइलो गर्न किसानको हिलो चोर्न मिल्दैन,
जबसम्म त्यो किसानको जुत्ता छैन,जबसम्म त्यो किसानको छोरो शहरमा गरिब भएर मजदुरी गरिरहेको छ।
निष्कर्षमा म भन्न चाहन्छु —
“धान दिवस खेतको रमाइलो होइन, खेतको सन्देश बुझ्ने दिन हो। किसानको पीडा बुझ्न नसकी त्यो हिलोमा रमाइलो गर्नु भनेको, कसैको घाउमा रंग लगाएर मेला बनाउनु हो।”
यदि तपाईं पनि मेरो जस्तै सोच्छु भन्न चाहनुहुन्छ भने,
धान दिवस रमाइलोको नाममा ‘किसानलाई दृश्यको पृष्ठभूमि’ बनाउने होइन, ‘यथार्थको केन्द्र’ ।।