महाकाली कोरिडोर : तीन सय किलोमिटरमा खुल्यो ट्रयाक खुल्यो

सुदूरपश्चिम प्रदेशको दक्षिण कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै उत्तरको दार्चुला–टिङ्कर जोड्ने महाकाली कोरिडोरको ४१३ मध्ये करिब तीन सय किलोमिटरममा ट्र्याक खुलेको छ । चीन र भारतको सीमा जोड्ने व्यापारिक महत्वको महाकाली कोरिडोर सुदूरपश्चिमको विकासका लागि कोसेढुङ्गा मानिएको छ ।
कोरिडोरको ४१३ किलोमिटर सडकमध्ये ३३४ किलोमिटर सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन आयोजना कार्यालयले निर्माण गर्दै छ । आयोजनाले २८१ किलोमिटर पूरा गरेको छ । दार्चुलाको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर चट्टानी भागमा नेपाली सेनाले निर्माण गर्दै छ ।
नेपाली सेनाले हेलिकोप्टरबाट छाङरुमा एक्साभेटर पु¥याएर निर्माणको काम अघि बढाएको हो । सेनाले अहिलेसम्म १७ किलोमिटर सडक खनिसकेको छ । सेनाले यो वर्ष मात्रै १.८ किलोमिटर सडक निर्माण गरेको छ । आयोजनाले जिम्मा पाएको कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ५८ किलोमिटर, बैतडीमा १४४ किलोमिटर र दार्चुलामा १२१ किलोमिटर गरेर ३३४ किलोमिटर सडक रहेको छ । सोमध्ये हालसम्म २८१ किलोमिटर सडकको ट्र्याक खुलिसकेको आयोजनाका सूचना अधिकारी रामचन्द्र जैसीले बताए । उनले आयोजनाले ९० प्रतिशत काम सकेको बताए ।
कोरिडोरमा चालु आव २०८१÷८२ मा थप २० किलोमिटर ट्र्याक खन्ने काम पूरा हुन लागेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जिम्मा पाएकोमध्ये जोगबुडा, डडेलधुराको भागेश्वर र बैतडीको पञ्चेश्वरस्थित रोडीदेवलको भिर र दशरथ चन्द नगरपालिकाको कन्सनीगाडमा कोरिडोरको बाँकी काम सक्न टेन्डरमार्फत निर्माणको काम भइरहेको छ । दार्चुलाको लाली र बैतडीका केही स्थानमा कडा चट्टान भएकाले विस्फोटक पदार्थका लागि स्वीकृति पाइसकेको सूचना अधिकारी जैसीले बताए ।
विसं २०६६ देखि दार्चुला–टिङ्कर सडकका नामबाट सुरु भएको योजना २०७७ मा कञ्चनपुरको ब्रह्मदेव जोडिएपछि यो सडकको नाम महाकाली कोरिडोर भएको हो । सडकको ट्र्याक खोल्न हालसम्म तीन अर्ब ६९ करोड २१ लाख रुपियाँ खर्च भइसकेको छ । एक अर्ब ५२ करोड रुपियाँ भुक्तानी हुन बाँकी रहेको बताइएको छ । कोरिडोर पूरा गर्न १३ अर्ब ४९ करोड ८७ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

न्यून बजेटमा पनि कालोपत्रे सुरु
महाकाली कोरिडोरमा आगामी आव २०८२÷८३ का लागि २२ करोड ९७ लाख रुपियाँ बजेट रहेको सूचना अधिकारी जैसीले बताए  । उनले चालु आवमा ४१ करोड रुपियाँ खर्च भए पनि आगामी आवका लागि न्यून बजेट रहेको बताए ।
न्यून बजेटमा पनि कोरिडोरको ट्र्याक खोल्ने कामसँगै कालोपत्रेको काम पनि अघि बढेको छ । ट्र्याक खुलेको २८१ किलोमिटरमध्ये डडेलधुरामा ३.४ किलोमिटर र दार्चुलामा एक किलोमिटर कालोपत्रे गरिएको छ भने एउटा पुलसमेत निर्माण गरिएको छ । कोरिडोरमा कुल ३५ वटा पुल निर्माण हुने छन् । जसमध्ये कञ्चनपुरमा पाँच वटा, डडेलधरामा १० वटा, बैतडीमा १० वटा र दार्चुलामा नौ वटा पुल रहने छन् ।
सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नम्बर १ सम्म निर्माण हुने यस सडक योजनाबाट व्यापार मात्रै नभई कैलाश मानसरोवर भ्रमणका लागि छोटो बाटो हुने छ ।

सम्बन्धित समाचार

ताजा समाचार