निराशालाई आशामा बदल्दै मालिकार्जुन गाउँपालिका

दार्चुला । मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव विस्तारै देखिने अवस्थामा हुँदैछ । ‘शिक्षामा गरिएको लगानीको प्रतिफल थोरै ढिला देखिन्छ, तर काम गराई र अपनत्वको हिसाबले मालिकार्जुन गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक छ,’ मालिकार्जुन गाउँपालिका–३ का खडकसिह धामीले भने, ‘शिक्षामा भइरहेको राजनीतिकरण कमी गर्न सके पनि धेरै परिवर्तन सम्भव छ ।’
‘०७९ सालमा निर्वाचित भएलगत्तै जनप्रतिनिधिले विकास निर्माणका कार्य होस् या शिक्षामा विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापनको कार्य होस्, गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक छ, कम्तीमा राम्रो गरेको कामलाई प्रंशसा गर्न सिकौं,’ मालिकार्जुन गाउँपालिका–४ का बलदेवसिह धामीले भने, ‘राम्रो कामलाई प्रंशसा र नराम्रो कामलाई खबरदारी ग¥यौं भने जनताका सपना पूरा गर्नतर्फ जनप्रतिनिधि अग्रसर हुने हो ।’
‘गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै लगानी गरिरहेको छ । शिक्षामा भएको लगानीअनुसार प्रतिफल दिने गरी लाग्नुपर्छ, हामीसँगै हिडेका कारण पनि राम्रो भएको कामलाई अझै राम्रो गर्दै जाऔं,’ नेकपा माओवादी केन्द्र दार्चुलाका संयोजक पदमराज पन्तले भने ।

यी प्रतिनिधिमुलक विचार मालिकार्जुन गाउँपालिकाको आयोजना र दार्चुला विकास संगठनले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा व्यक्त भएका हुन् । मालिकार्जुन गाउँपालिकाको प्रथम र द्धितीय चौमासिक सार्वजनिक सुनुवाइको क्रममा स्थानीय अहिले पालिकाले गरिरहेको कामप्रति धेरै निराशावादी छैनन् । तर धेरै आशा गर्ने ठाउँहरु बाँकी रहेको भन्दै त्यसलाई सुधार गर्नतर्फ भने सुझाव दिएका छन् ।


नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पदमराज पन्त शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत र कृषि पशु क्षेत्रमा गाउँपालिकाले अझै काम गर्न सक्ने अवस्था रहेको बताउँछन् । शिक्षामा केहि प्रयास भएका छन् ।
कृषि पशुमा कर्मचारी राख्ने काम भएका छन् । तर वडामा गएर हाजिरी लगाउने मात्र नभई बजेट दिएर कृषि पशु क्षेत्रको विकासमा लगानी बढाउन उनले सुझाव दिए । उनले भने ‘पशु र कृषि प्राविधिक पठाएर मात्रै भएन, बीउ विजन, औषधि, कृषि यान्त्रिकरणका कुराहरु बढाउनुपर्छ ।’ किसानलाई धेरै चाहिएको छैन् । थोरै बजेटमार्फत हुने काम गर्नतर्फ पालिका अग्रसर हुनुप¥यो ।
पालिकाका अधिंकाश वडा वस्तीमा अहिले पनि पम्पिङमार्फत गाउँमा खानेपानी पु¥याइएको छ । केहि योजनाहरु निर्माणकै क्रममा छन् । तर जनताले पानीको महशुल र विद्युतको महशुल दुवै तिर्नुपर्ने अवस्था छ । यो विषयमा गाउँपालिकाले काम गर्नुपर्छ उनले भने ‘विद्युत र पानी मध्ये एउटा महशुल गाउँपालिकाले व्यवहोर्ने गरी काम ग¥यो भने जनतामा सरकारप्रति नैराश्यता पैदा हुन पाउँदैन् ।’ जहाँ पनि करको भारमात्रै थोपर्ने हो भने जनतामा निराशा पैदा हुन्छ । सानातिना समस्या समाधानतर्फ अगाडि बढ्नुपर्छ ।


गाउँपालिकामा निर्वाचित भएलगत्तै पालिकाकै स्काभेटर प्रयोग गरी वडा सदरमुकाम जोड्ने गरी गाउँपालिकाले सडकको काम ग¥यो । अहिले वडा नम्बर २ को न्वालपानी वस्ती सडक पुग्यो । झण्डै १२ किलोमिटर सडक पालिकाकै बजेटमा खनिएको छ ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ लाई समेत गाउँपालिकाको रिङरोड सडकमा जोड्नुपर्नेमा बलदेव धामीले जोड दिए । अरु वडाका वस्तीमा धमाधम काम भइरहेको छ, हाम्रोतर्फ पनि सडक खनिदिनुपर्यो । भौतिक पूर्वाधारका क्षेत्रमा कामहरु भइरहेका छन् । सडक विस्तार भएका छन् । पालिका भवन निर्माणाधीन छ । १० सैय्या अस्पताल सञ्चालनमा आएको छ । वडाहरुमा नयाँ वडा कार्यालय भवन निर्माण भइरहेका छन् ।


जनप्रतिनिधिले देखेको सपना पूरा गर्न नीति कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए । वार्षिक कार्ययोजनाअनुरुप हामीले काम गर्दै आएका छौं । ‘खरिद ऐन नियमअनुसार काम गरिरहेका छौं । अझैँ पालिकाको विकासको लागि जनप्रतिनिधि, राजनीतिक दल, आमजनसमुदायको सहभागितामा अभिबृद्धि गर्दै समन्वयात्मक ढंगले अघि बढ्न प्रतिबद्ध छौं,’ ठगुन्नाले भने ।
गाउँपालिका उपाध्यक्ष कल्यानसिह धामी पालिकामा आउने उजुरी तथा गुनासामाथि छलफलकै माध्यमबाट समाधान हुँदै आएको बताउँछन् । गाउँपालिका अध्यक्ष हिरासिह धामी आफ्नो नेतृत्वमा आएको टिमले मालिकार्जुनबासीको सम्बृद्धिको सपना पूरा गर्नतर्फ अग्रसर रहेको बताउँछन् । ‘धेरै सिस्टममा समस्या थियो । विस्तारै सुधार गर्दै जनतालाई रोजगारी सिर्जना हुने गरी काम थालनी गरेका छौं ।’ नागरिकमा निराशा पैदा हुन नदिने गरी गाउँपालिकाले नीति कार्यक्रममार्फत जनताको खुसी बनाउने सपना कार्यान्वयन गर्दै आएका धामीको भनाई छ ।

शिक्षा क्षेत्र अस्तव्यस्त थियो । विस्तारै लयमा ल्याउने प्रयासहरु भएका छन् । केहि विद्यालय डाउनसाइज र केहि समायोजन गरिएका छन् । त्रैमासिक रुपमा शिक्षकहरुले तलब पाउँदै आएकोमा देशमै पहिलोपटक गाउँपालिकाले इएफटीमार्फत मासिक रुपमा तलबभत्ता खातामा जाने व्यवस्था सुचारु गरेको छ । विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापन र शिक्षक अभाव भएको ठाउँमा पदपूर्ति गरेर अघि बढेको अध्यक्ष धामीले बताए ।रोजगारी पालिकामै सिर्जना गर्न गारमेन्ट उद्योग सञ्चालनको तयारी गरिएको छ । किसानलाई कृषि यान्त्रिकरण सहयोग गर्दै आएका छौं उनले भने । रोजगार सिर्जना गर्ने र उद्यमी बनाउने नीतिलाई प्राथमिकता साथ लिएका छौं ।
पशु क्षेत्रका सम्भावना भएका ठाउँमा मुर्रा भैसी वितरण गरिएको छ । पकेट क्षेत्र घोषणा गरिएका छन् । सोहीअनुसार लगानी हुँदैछ । किसानको उत्पादनलाई बजारसम्म ल्याउन संकलक केन्द्र निर्माण गरिदैछ । अहिलेको सीमित श्रोतसाधनले गाउँबासीको सपना पूरा गर्नतर्फ निरन्तर प्रयास हुने धामीको भनाई छ ।
१० सैया अस्पतालमा मात्र नभई गाउँपालिकाले वस्तीस्तरसम्म शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा प्रवाह गरेको छ ।
चालू आर्थिक वर्षमा गाउँपालिकाले ५७ करोड ९१ लाख ७४ हजार रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ । जसमार्फत पालिकाभरी ११८ ओटा योजना कार्यान्वयन भइरहेको छ । गाउँपालिकाले सामाजिक विकास क्षेत्रमा ३३ ओटा, आर्थिक विकासको क्षेत्रमा ७ ओटा, महिला लक्षित २ ओटा तथा बालबालिका र दलित लक्षित १÷१ योजना कार्यान्वन भइरहेको छ ।

सामाजिक सुरक्षामा ४ करोड बढि बजेट भुक्तानी
मालिकार्जुन गाउँपालिकाले दोस्रो चौमासिक अवधिसम्म ४ करोड बढि बजेट सामाजिक सुरक्षामा भुक्तानी गरेको छ । पालिकाभरिका १ हजार २५२ महिला तथा ८९९ पुरुष गरी कुल २ हजार १५१ जना लाभग्राहीलाई कुल ४ करोड १४ लाख ४३ हजार ३५१ रुपैयाँ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाभरि सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक गैरदलित संख्या १ हजार ३२८ जना, ज्येष्ठ नागरिक दलित १२९ जना, पूर्ण अपांगता ६१ जना, आंशिक अपांगता ७८ जना, ज्येष्ठ नागरिक एकल महिला ८९ जना, विधवा महिला २४५ जना, बाल संरक्षण अनुदान २१४ जना तथा लोपोन्मुख आदिवासी जनजाति ७ जनाले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता पाउँदै गरेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्रसिह धामीले जानकारी दिए । चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रमको लागि कुल ७ करोड ९९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा सात वटा कार्यविधि निर्माण
मालिकार्जुन गाउँपालिकाले चालू आर्थिक वर्षमा सात वटा कार्यविधि निर्माण गरेको छ । गाउँपालिकाले पहिलो र दोस्रो चौमासिक अवधिमा कामकारवाहीलाई सजिलो बनाउन कार्यविधि निर्माण गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाका अनुसार चालू आर्थिक वर्षमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०८१, आधारभूत अस्पताल सञ्चालन कार्यविधि २०८१, मालिकार्जुन गाउँपालिकाको अनुगमन, सुपरीवेक्षण र फरफारक सम्बन्धी कार्यविधि २०८१, उपभोक्ता गठन सम्बन्धी कार्यविधि २०८१, विद्यालय दिवाखाजा भान्से व्यवस्थापन कार्यविधि २०८१, कर्मचारी कल्याण कोष नियमावली २०८१ तथा विद्यालय भान्सा कोठा निर्माण कार्यविधि २०८१ निर्माण गरिएको छ ।
यसअघि गाउँपालिकाले २४ ओटा ऐन, कार्यविधि, मापदण्ड र निर्देशिका ८९ तथा नियमावली ६ ओटा बनाएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार