जनताले कोदालोले खनेको सडक प्रदेश सरकारबाट कालोपत्रे गरिदै

बैतडी । स्थानीय बासिन्दाले गैँती, कोदालो र झम्पल प्रयोग गरेर तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिदिएको छ । जर्मन सहयोग नियोग (जिआइजेड) ले स्थानीयलाई दालचामल र नगद ज्याला दिएर २०७० सालमा निर्माण पूरा गरेको देहिमाण्डौँ–गिरेगाडा ३२ किलोमिटरमध्ये सुदूरपश्चिम प्रदेश सरकारले १५ किलोमिटर सडक कालोपत्रे गरेको हो ।
देहीमाण्डौँ, ग्वाल्लेक, नागार्जुन, गिरेगाडाका करिब सात हजार मानिसले गैँती, कोदालो र झम्पल प्रयोग गरेर ३२ किलोमिटर सडक खनेको देहिमाण्डौँका सुरेश बोहराले बताए  । सडक निर्माणका क्रममा स्थानीयले ५८ करोड रुपियाँ बराबरको दालचामल र ५७ करोड रुपियाँ नगद ज्यालासमेत पाएको उनले बताए ।
डोजर तथा आधुनिक उपकरण प्रयोग नगरी नै तीन वर्षमा पाखुराकै बलमा घरेलु उपकरण प्रयोग गरेर ३२ किलोमिटर सडक निर्माण हुन सक्छ भनेर कसैले पत्याएका थिएनन् । अहिले कालोपत्रे सडकमा सरर मोटर चल्न थालेका छन् । प्रदेश सरकारले २०७६ सालदेखि कालोपत्रे सुरु गरेर यो वर्ष १५ किलोमिटर सडक स्तरोन्नतिको काम पूरा भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्राविधिक नरेश भुलले बताए ।
सडक कालोपत्रे भएपछि स्थानीयवासी खुसी मात्रै भएका छैनन्, गाउँमै कृषि, पशुपालन र फलफूल खेतीमा लागेको दशरथचन्द नगरपालिका–९, गाल्लेकका वडाध्यक्ष मोहन जोशीले बताए  । मानिसले खनेका कारण यो सडकमा कतै पनि पहिरो नखसेको उनले बताए । सडक निर्माणमा सात हजार मानिस २६० समूहमा परिचालन भएको कार्यक्रमका तत्कालीन प्राविधिक पुष्करराज जोशीले बताए  । सन् २०१० देखि २०१३ सम्म सडक खन्दा गाउँमा रोजगारीको अवसर सिर्जना भएको उनले बताए ।
उनले भने, ‘जर्मन सहयोग नियोग (जिआइजेड) ले सडक निर्माणसँगै ४० वटा सिँचाइ कुलो, ग्वाल्लेक र देहिमाण्डौँ क्षेत्रमा १० वटा र मेलौली नगरपालिका क्षेत्रमा २७ वटा विद्यालयका भवन निर्माण भएका छन् । कार्यक्रमको क्षेत्रसँग सिमाना जोडिएका पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा खानेपानीका योजनासमेत निर्माण भएका छन् ।’
सडक, सिँचाइ कुलो र विद्यालय भवन निर्माणले स्थानीयले तीन वर्षसम्म लगातार रोजगारी पाउँदा जीवनस्तर नै बदलिएको ग्वाल्लेकका सामाजिक अगुवा जनकराज जोशीले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार