उकु महल निरीक्षणमा पुगे पूर्व मुख्यमन्त्री रावल, भेटिन थाले मन्दिरका भग्नावशेष

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिह रावलले दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ स्थित उकु महलको निरीक्षण गरेका छन् । पुरातत्व विभागले उत्खनन् गर्दै आइरहेको भग्नावशेष स्थलको निरीक्षण गरेका हुन् ।
उकु महलको बारे लामो अनुसन्धान गरेका पूर्व मुख्यमन्त्री रावलले अहिले भइरहेको कामको प्रगतिको बारेमा पुरातत्व विभागको टोलीसँग जानकारी लिए । उनले भने, ‘यो सुदूरपश्चिमकै एक ऐतिहासिक सम्पदा हो । विश्व सम्पदा सूचीमा पर्ने सम्भावना निकै छ ।’ अहिले दार्चुलाको उकु र डडेल्धुराको अजयमेरुकोटको उत्खनन भइरहेको छ ।
यसको उचित संरक्षण र अध्ययन आवश्यक भएकै कारण उत्खननको काम थालिएको उनले बताए । यसको लागि आफुले सक्ने प्रयास गरिरहेको स्मरण गराए । यो हाम्रो लागि अध्ययनको विषय हो । सम्पदा उत्खनन र पुर्ननिर्माणको लागि सरकारले ध्यान दिनुपर्छ । मैले गर्ने काम गर्छु ।


उनले भने, देश काठमाण्डौंबाहिर पनि छ । काठमाण्डौं बाहिर कयौं ऐतिहासिक सम्पदा हुँदा पनि अनुसन्धान समयमै नहुँदा ओझेलमा परेको हो । सुदूरपश्चिमभरिका यस्ता ऐतिहासिक सम्पदाको खोजीको लागि आफु निरन्तर लाग्ने समेत उनले बताए ।
उत्खननका क्रममा यहाँ ठुलो संख्यामा कलात्मक शिला, विभिन्न मूर्ति, शिखर (गजुर) का अर्ध भाग, ढुङ्गेधारा, बसाहा, सिंहलगायत थरी थरीका आकृति भएका वस्तुका अवयव भेटिएका छन् । यसअघि यहाँ १५ औँ शताब्दीको शिलालेखसमेत भेटिएको थियो ।
करिब एक बिघा क्षेत्रफलमा महलको भग्नावशेष छ । भारतबाट बगेर आउने गोरी नदी र नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीको संगम स्थल जोलजिबी बजारबाट चार किलोमिटर दक्षिण महाकाली नदीछेउको बायाँ किनारमा महलको भग्नावशेष रहेको छ ।
यो वर्ष अध्ययनको क्रममा तीन वटा मन्दिरहरुका भग्नावशेष भेटिएको वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले बताए । गत वर्षबाट उकु क्षेत्रमा भएका वास्तु अवशेषहरुको व्यवस्थापन र उत्खननको काम भइरहेको छ । यो वर्ष एक सय मिटर पश्चिम पिपलबोटमा उत्खननको काम गरिएको उनले बताए ।


यो ठाउँमा शिखर वास्तु शैलीको जग र ढुङ्गा भेटिएकाले यो राजा बस्ने महलभन्दा पनि मन्दिर नै भएको वरिष्ठ पुरातत्व अधिकृत उप्रेतीले बताए । ‘अहिले यहाँकाको वास्तु अवशेषहरुको अनुसन्धानको काम गरिरहेका छौं,’ उनले भने, ‘यहाँ भएका आकृति हेँर्दा १४, १५ औं शताब्दितिर भएको हुनुपर्छ ।’
उत्खननको काम निकै संवेदनशील भएकाले ढुङ्गा सफा र नापजाँच गरेर मात्रै ढुङ्गा छेउ लगाउने काम गरिएको छ । पुरातत्व विभागले एक महिनादेखि यस क्षेत्रमा उत्खननको काम गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार