‘यो वा त्यो वहानामा होइन्, राष्ट्रभक्त र देशको माटोप्रति माया भएकाहरुले श्रम गरेर भए पनि बाटो चाहि बनाउनैपर्छ । यो अन्तिम मौका हो,’ नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाले भन्दै आएको वाक्य हो ।
व्याँस गाउँपालिकाको वडा नम्बर १ र २ का नागरिकलाई आफ्नै भूमि भएर हिड्न सक्ने पैदल बाटो खन्नैपर्छ । राज्यले खोल्नुपर्छ, नागरिकले श्रम गरेर भए पनि खोल्नुपर्छ । उसले गरेन्, त्यो बेला गरेन भन्दा पनि अब चाहिँ नगर्ने छुट कसैलाई छैन् ।
‘सामरिक महत्व बोकेको छाङ्गरु–टिंकर जोड्न गोरेटोबाटो नहुनु लज्जाको विषय बनेको छ,’ ठगुन्नाले भने‘ योपटक जसरी पनि बाटो बनाउने गरी काम गर्नुपर्छ । मानिसले हिड्नेगरी काम गर्न सबै प्रतिबद्ध हौं ।’ बैशाखसम्म भए पनि बाटो खोल्ने गरी लागौं । विगतमा भएको कमजोरीलाई सुधार गर्दै लिनुपर्छ । नागरिकले आफ्नो देशबाट भएर हिड्न पाउनुपर्छ ।

पैदलबाटो खोल्ने अठोट लिएका पूर्वमन्त्री ठगुन्नाले नेपाल र भारतका दुवै ठाउँबाट भूगोलको स्थलगत अवलोकन निरीक्षण गरेका छन् । यहि साता व्याँस गाउँपालिकाको तुसरपानी हुँदैं, दुम्लीङ, कल्जु, तम्बाकु, घाटिबगर लगायतका क्षेत्रमा ज्यानको प्रवाह नगरि बाटोको अवस्थाबारे निरीक्षण गरेका छन् ।
‘हेर्दै जीउ जिरिङ्ग हुने भूगोलमा हात खुट्टाले हिडेर पैदलबाटोको अवस्थाबारे निरीक्षण भयो,’ व्याँस गाउँपलिका अध्यक्ष मंगलसिह धामीले भने, ‘पूर्वमन्त्री ज्यूको अठोट निकै देखियो ।’ टोलीमा व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामी, राजनीतिक दलका नेता, प्राविधिक कर्मचारी सहित नेपालकै बाटो भएर बाटो बनाउनुपर्ने भूगोलको निरीक्षण गरेका हुन् ।

सडक निर्माण ढिलाई हुँदा व्याँस गाउँपालिका १ र २ का स्थानीयले आवतजावत गर्न पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यो वर्ष नेपालतिरै बाटो बनाउनुपर्ने भन्दै पूर्वमन्त्री ठगुन्नाले ज्यान जोखिममै राखेर फिल्डस्तरमा खटिनुभयो, अध्यक्ष धामीले भने, हिड्दा सिधैं महाकाली नदि देखिन्थ्यो, । कहि घाँसको सहारा त कहि लठ्ठी डोरीको सहारामा बाटो हे¥यौं । बाटोको दयनिय अवस्था हेर्दा कुन ठाउँमा लड्न्छि भन्ने जस्तो भान समेत भयो । कल्जु भन्दा माथिल्लो तम्बाकु घाटीबगर दोपाखे क्षेत्रसम्म कठिन भूगोल छ ।

स्थलगत अनुगमन गरेर फर्किएपछि पूर्वमन्त्री ठगुन्नाले लेखे, ‘कोठामा बसेर उपदेश दिनु र यथार्थ धरातलको अवस्थामा काम गर्नुमा कयौं गुना फरक हुन्छ । यति कठिन धरातलमा काम गरेर हामीले देशको भुगोललाई जोड्नु परेको छ ।’ उनले थपे, ‘सलाम छ ती बहादुर मजदुरहरुलाई ! जो ज्यानको बाजि लागाएर यस्तो कठिन भूगोलमा काम गरिरहेका छन् । यस्तो जटिल ठाउँमा काम गर्ने मजदुरहरुको ज्याला दोब्बर गर्नेमा जिल्ला ज्याला निर्धारण समितिको ध्यान आकर्षण गर्न चाहान्छु ।’ बाटोको अनुगमन सँगै उनले नेपाली सेनाले निर्माण गरिरहेको सडकमा काम गर्ने मजदुरको ज्याला न्यून भएको विषयमा धयानाकर्षण गराएका हुन् ।

नेपाली सेनाले व्याँस गाउँपालिका–३ तुसरपानी देखि टिंकर जोड्ने गरी सडक निर्माणको काम गरिरहेको छ । कुल ७९ किलोमिटर मध्ये हालसम्म सेनाले १४ किलोमिटर सडकको ट्रयाक खुलाएको उल्लेख गरेको छ । यो वर्ष सेनाले कुल ९ करोड बजेटमार्फत ट्रयाक खुलाउने काम गरिरहेको छ ।
तर दुम्लीङदेखि कल्जु हुँदै छाङ्गरुसम्म पैदलबाटो खुलाउन सरकारले चालू आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


