दार्चुला ः दार्चुलामा ७ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ । यही माघ २२ गतेदेखि संञ्चालन हुने एचपीभी खोप अभियानअन्तर्गत जिल्लाभरीका ७ हजार २६४ किशोरीलाई खोप दिइन लागिएको हो । शुक्रवार स्वास्थ्य कार्यालय दार्चुलाले सञ्चालन गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । एचपीभी खोप अभियानअन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र कुनै कारण विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले जानकारी दिए । विद्यालय जाने लक्षित उमेर समूहका ७ हजार २३५ किशोरी र कुनै कारण विद्यालय नजाने २९ किशोरी गरी जम्मा ७ हजार २ सय ६४ जनालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने उनले बताए । खोप अभियान सञ्चालनको पूर्वतयारीस्वरुप जिल्लास्तरमा स्वास्थ्यकर्मीहरुलाई तालिम दिई सकिएको र पालिका स्तरमा तालिम सुरुवात गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभरी २२८ खोप केन्द्र तोकिएका छन् । दार्चुला जिल्लामा माघ २२ गतेदेखि माघ २८ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।
संसारका विभिन्न देशमा गरिएको अध्ययन् अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस हो ।
स्वास्थ्यकर्मीहरुका अनुसार ह्युमन प्यापिलोमा भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने र औषतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट ज्यान जाने अनुमान छ । पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ ।

दार्चुलामा ७ हजार २६४ किशोरीलाई एचपीभी खोप दिइने

