प्यालेस्टिनी समूह हमासले पहिलो चरणमा रिहा गर्ने बन्धकको सूची दिएसँगै गाजामा युद्धविराम लागू भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय समयअनुसार बिहान ११ः१५ (नेपाली समयअनुसार ३ः००) बजेदेखि युद्धविराम लागू भएको जनाएको हो ।
हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची दिएपछि इजरायलले सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।
युद्धविराम भएको पहिलो दिन आइतबार तीन बन्धक रिहा भएका छन् । डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेन आइतबार साँझ रिहा भएका हुन् । उनीहरू तीनै जनालाई रेडक्रसको टोलीले गाजाबाट इजरायल ल्याएको हो । इजरायलका अनुसार उनीहरू तीनै जना २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा थिए । इजरायलले पनि महिला र बालबालिकासहित ९० जना प्यालेस्टिनी कैदीहरू रिहा गरेको छ ।
कतारसहित अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको हो । युद्धविरामको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका विषयमा पहिलो चरणको १६ औं दिनदेखि थप छलफल गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार दोस्रो चरणमा गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने र त्यसको सट्टा हमासले सैनिकलगायत
हमासले इजरायलमा गरेको आक्रमणपछि विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणमा इजरायलमा १२ सयको ज्यान गएको थियो ।
त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४६ हजार ९ सय प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ ।
