हिमाली जडीबुटीहरुको संरक्षण र दिगो विकासका लागि ५ वर्षे कार्यक्रमको सुभारम्भ

दार्चुला । दार्चुलामा हिमाली जडीबुटीहरुको संरक्षण र दिगो व्यापारको लागि पाँच वर्षे परियोजनाको सुभारम्भ गरिएको छ । दिगो, जिम्मेवार र समतामुलक व्यापारका माध्यमबाट जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित सामुदायिक वन उपभाेक्त्ता महासंघ नेपाल र एन्साब नेपालको सहयाेगमा दार्चुलामा कार्यक्रम सुभारम्भ गरेको हो ।
समृद्ध र उत्थानशील समुदाय, सुदृढ नीति र जिम्मेवार मूल्य शृंखलामा आधारित रहेर परियोजनाले काम गर्ने छ । सदरमुकाम खलंगामा आयोजित सुभारम्भ कार्यक्रमको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले उद्घाटन गरेका हुन् ।

यो कार्यक्रममार्फत गरिबी न्यूनीकरण र जीविकोर्पाजनसंगै प्राकृतिक स्रोत व्यवस्थापनका लागि परियोजना सञ्चालनमा आएको छ । परियोजनाले संरक्षण र व्यापारका हिसावले महत्वपूर्ण जडीबुटीको मुख्य उत्पादन क्षेत्र रहेका दार्चुलासहित नेपालका २७ वटा जिल्लालाई समेटेर परियोजना लागू भएको एन्साबका चण्डीका अमगाईले जानकारी दिए ।

जिल्लामा पाइने जडीबुटीलाई दिगोपना दिनका लागि र जडीबुटीको उम्रिने सबै समय पूरा भएपछि निकासी गर्नुपर्नेमा सरोकारवालाको जोड छ । यो कार्यक्रमले सुदूरपश्चिमका दार्चुला, बझाङ र बाजुरालाई जोडेको छ ।
कार्यक्रममार्फत जीविकोपार्जनमा सुधार भइ गरिवी न्यूनीकरण हुने, २० हजार जडिबुटी संकलकले तालिम पाउने र कम्तिमा ४० प्रतिशत महिला सहित १० हजार जडिबुटी संकलनको आम्दानी बढ्ने अपेक्षा गरिएको छ । यस्तै सामुदायिक वनका तीन हजार छ सय उपभोक्ता स्वेच्छिक प्रमाणीकरणका लागि तयार हुने र स्थानीय स्तरका जडिबुटीमा आधारित कम्तिमा २० वटा उद्यम प्रविधिको सुधार हुने अपेक्षा परियोजनाले लिएको छ ।
परियोजना अवधिमा करिव ३२ करोड रुपैयाँ खर्च हुने एन्साब नेपालले जनाएको छ । परियोजनामार्फत प्राकृतिक स्रोत व्यवस्थापनतर्फ करिव १५ लाख हेक्टर क्षेत्रफलमा संरक्षण र व्यापारका हिसावले महत्वपूर्ण जडिबुटीको स्रोत सर्वेक्षण गरिने भएको छ ।
यस्ता जडिबुटीहरुमा अतिस, काकोली, कुड्की, गुच्ची च्याउ, जटामासी, पदमचाल, पाँचऔंले, यार्सागुम्बा, सतुवा, सुगन्धवाल, सेतकचिनी र लेकको पाखनबेद रहेका छन् । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको तथ्याङ्कअनुसार जिल्लामा ७५ प्रकारका जडीबुटी पाइने गरेको छ ।


परियोजना अवधिमा तीनसय ५० वटा सामुदायिक वनले दिगो वन व्यवस्थापनको तालिम पाउने भएका छन् । उक्तमध्ये कम्तिमा दुईसय ८० वटा सामुदायिक वनले वन व्यवस्थापनबाट सिकेको ज्ञानलाई समूहमा अभ्यास गर्न सक्ने बनाइने भएको छ । यस्तै कम्तिमा एकसय ९० वटा समुदायिक वनमा वनस्रोत माथिको दोहन रोक्नेगरी क्रियाकलाप सञ्चालन गरिने भएको छ ।
परियोजना अवधिमा कम्तिमा ६० वटा सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजनामा दिगो व्यवस्थापन,जडिबुटी पुर्नउत्पादन र सामुदायिक अनुगमनको व्यवस्थापा गरी कार्ययोजना नविकरण तथा योजना निर्माण गरिने भएको छ ।
डिपार्टमेन्ट अफ इन्भाइरोमेन्ट,फुड एण्ड रुरल अफेयर्स युके र डार्बिन इनिसिएटिभ युके मुख्य दातृ निकाय रहेको परियोजनामा ट्राफिक इन्टरनेसनल युके, एन्साब नेपाल, साुमदायिक वन उपभोक्ता महासंघ,फेयर वाइल्ड फाउण्डेसन, युनिभर्सिटी अफ कोपनहेगन डेनमार्क, युनिभर्सिटी अफ अक्फोर्ड,युके, त्रिभुवन विश्व विद्यालय र विश्व वन्यजन्तु कोष भारत साझेदार रहने छन् ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय,नेपाल हब्र्स तथा हर्बल उत्पादन संघ,चाइना एसोशिएसन अफ ट्रेडिसनल चाइनिज मेडिसिन,चाइना स्ट्यान्डर्ड कन्फर्मिटी एसेसमेन्ट कम्पनी लिमिटेड र टेरा हिमालय प्रालि भुटान सहयोगी निकायको रुपमा रहने एन्साब नेपालले जनाएको छ ।


दिगो व्यवस्थापनमा सहकार्य गरौं : सरोकारवाला
हिमाली जडीबुटीहरुको संरक्षण र दिगो व्यापार परियोजना सुभारम्भ समारोहमा बोल्ने वक्ताहरुले यसको दिगो व्यवस्थापनमा सबै पक्षको सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । संरक्षण गर्नुपर्ने विषयवस्तुमा एक निकायले मात्रै गरेर नहुने भन्दै सबै पक्षको सहकार्य आवश्यक भएको बताएका हुन् ।

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगलसिह ठगुन्नाले जिल्लामा प्रयाप्तमा मात्रामा जडिबुटी पाइने भए पनि संरक्षणमा ध्यान कसैको जान नसकेको बताए । संकलकर्ताहरुले कुन समयमा जडिबुटी टिप्ने भन्ने ज्ञान नहँुँदा पनि हरेक वर्ष दोहन भइरहेको उनले बताए । ‘जडिबुटीको संरक्षण गर्नको लागि स्थानीयलाई संकलन अवधिको बारेमा ज्ञान जनचेतना छर्नु अनिर्वाय छ’ उनले भने ।
व्याँस गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष धीरनसिह बुढाथोकी जडिबुटीको संरक्षणको लागि यो परियोजना प्रभावकारी हुने देखिएको भन्दै समुदायस्तरसम्म पुग्नुपर्ने बताए । जडिबुटी संकलन र दिगो व्यापारको लागि सारिएको अवधारणा राम्रो लाग्यो । कार्यान्वयनमा सबै क्षेत्र समानुपातिक ढंगले समेट्नुपर्छ ।
घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका प्रमुख केशवराज जोशी जडिबुटी संकलनकर्ताहरुको वास्तविक पहिचान गर्न सके मात्रै यो परियोजना सफल हुन सक्ने बताउँछन् । अहिलेसम्म को संकलक हो भनेर पहिचान पनि भएको छैन् । तथ्यांकलाई सहि प्रयोग गर्न सके कार्यक्रमको प्रभावकारीता अझै बढ्ने उनको भनाई छ ।
डिभिजन वन कार्यालय दार्चुलाका निमित्त प्रमुख परमानन्द कुवँर जडिबुटी व्यवस्थापन र संरक्षणको लागि कार्यालयको तर्फबाट सहकार्य गर्न आफु तयार रहेको बताउँछन् । ‘यो कार्यक्रम स्थानीयलाई चेतना अभिृबद्धि गराउन निकै प्रभावकारी हुने देखिन्छ,’ उनले भने, ‘हामीले जडिबुटी संरक्षणमा खेल्नुपर्ने सहयोग गर्न तयार छौं ।’
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका संरक्षण अधिकृत विनय कुमार झा परियोजना कार्यान्वयन संरक्षण क्षेत्रकै क्षेत्रभित्र रहेको उल्लेख गर्दै सँगसँगै हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राख्छन् । ‘हामीहरुको लक्ष्य, भिजन एउटै छ,’ उनले भने, ‘समुदायलाई कसरी जोड्ने र सचेतना कसरी गर्न सकिन्छ भन्ने विषय साझा छ । यो कार्यक्रमलाई समुदाय सँग जोड्न कार्यालयको तर्फबाट सहयोग हुन्छ ।’ अहिले हामीले समुदायमा समिति गठन गरिरहेका छौं उनले भने, तपाईहरु पनि आउनुहोस् अहिले देखि सहकार्यको वातावरण बनाऔं ।’

व्याँस गाउँपालिका उपाध्यक्ष बिनोदसिह कुवँर परियोजनाको उद्देश्य राम्रो भएको उल्लेख गर्दै जनतालाई सचेतना दिनेतर्फ ध्यान दिनुपर्ने बताउँछन् । हाम्रा कार्यक्रम जनतासम्म प्रभावकारी ढंगले सचेतना नपुगेकै कारण प्रभावकारी हुन सकिरहेका छैनन् । यसको लागि सरकारी निकाय, संघ संस्था र स्थानीय सरकार सँगै जोडिनु आवश्यक छ, उनले भने । व्याँस गाउँपालिका सम्बन्ध निकायको उपस्थितिमा सचेतनामूलक कार्यक्रममा हातेमालो गर्न तयार छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी जडीबुटीको संरक्षणको लागि सबै सरोकार राख्ने निकाय एकसाथ अघि बढे मात्रै उद्देश्य पूरा गर्न सहज हुने बताउँछन् । ‘सबैभन्दा सचेतनाको लागि काम गर्ने मिडिया हो, मिडिया समेटौं, जनतासँग प्रत्यक्ष जोडिने काम गरौं,’ उनले थपे, ‘यस्तो भयो भने मात्रै समुदायमा परियोजना प्रभावकारी बनाउन सकिन्छ ।’ जल, जमिन, जडीबुटी मात्र नभई अब यो देशका जवान मान्छे पनि जोगाउनु आवश्यक रहेको उनको भनाई छ ।


सामुदायिक वन उपभोक्ता महासंघ दार्चुलाका अध्यक्ष जनकसिह ठगुन्ना समृद्धि, आर्थिक विकास, दिगो वन व्यवस्थापन र जडिबुटीको संरक्षण तथा व्यापारका लागि यो अभियान सबै सँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँछन् ।
कार्यक्रममा पालिका र सामुदायिक वन छनोटका प्रकृयाबारे वन अधिकृत सुशिला भट्ट, एन्साब परियोजनाबारे जानकारी चण्डीका अमागाई तथा हिमाली जडीबुटीको संरक्षण र दिगो व्यापार परियोजनामा फेकोफनको भूमिका विषयमा महासंघका केन्द्रीय सदस्य जगदीशचन्द्र अवस्थीले प्रस्तुतिकरण राखेका थिए ।

फेकोफन दार्चुलाका अध्यक्ष जनकसिह ठगुन्नाको अध्यक्षतामा भएको परियोजना सुभारम्भ कार्यक्रमको उद्देश्य माथि एन्साबका शंकर भट्राईले प्रष्ट्याएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार