अपि वेश क्याम्प ट्रेकिङको उत्कृष्ट गन्तव्य !

सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपि हिमाल बेसक्याम्पसम्म ट्रेकिङको लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । मनोरम दृष्य र आकर्षक हिमाल तालतलैयाका कारण आन्तरिक तथा बाह्य पर्यटकको लागि टे«किङ गर्न उत्कृष्ट गन्तव्य बन्दै गएको हो ।
अपि हिमाल आधार शिविर सुदूरपश्चिम क्षेत्रकै एक प्रमुख आकर्षण पर्यटकीय गन्तव्य हो । गुराँस हिमऋखंलामा अवस्थित ७ हजार १३२ मिटरको उचाइमा रहेको अपि हिमाल नजिकै नाम्पा, बबई, जेठीबहुरानी, कापुचुली जस्ता थुप्रै हिमालहरू यहाँ छन् । मौसम अनुसार निलो र हरियो रंगमा परिणत हुने कालिढुङ्गा ताल, रिङ्देताल, भवयदह जस्ता थुप्रै तालतलैया पनि यस क्षेत्रमा पर्दछन् ।
पर्यटकको लागि भर्जिन गन्तव्य पनि हो अपि । दुई वर्षदेखि यसको प्रचार प्रसारले तिव्रता पाएसँगै यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले टे«किङ थालेका छन् । अहिले दिनहुँ ३० देखि ४० जनासम्म यात्रुले आवतजावत गर्ने गर्छन् ।
राष्ट्रिय भलिवल खेलाडी निरुता ठगुन्ना अपि वेशक्याम्प टे«किङ गर्नको लागि सहज र आकर्षक भएको बताउँछिन् । उनले भनिन् ‘यहाँको कालिढुङ्गाताल, अपि नाम्पा हिमालहरु आँखै अगाडि हेर्न सकिन्छ । ठाउँ ठाउँमा बस्नको लागि होमस्टे, तथा खानको लागि राम्रो सुविधा रहेको छ । यस्तो ठाउँमा भ्रमण गर्न आग्रह गर्छु ।’ अपिहिमाल वेश क्याम्प पुग्नु साह«ै रमणीय ठाउँ छ यो ठाउँ सधै सम्झिरहने छु ।


दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी पर्यटकको लागि अपि वेशक्याम्प सुदूरपश्चिमकै सुन्दर गन्तव्य भएको बताउँछन् । ‘यो धेरै किसिमले सुन्दर छ । यहाँको प्रकृति, हिमाल, तालतलैया, संस्कृति रहनसहन सबै दृष्टिले यो उत्कृष्ट र सुन्दर गन्तव्य हो ।’ यसको विकासको लागि तीन तहकै सरकारले संयोजन गरेर पर्यटन विकासमा टेवा पु¥याउनुपर्नेमा उनले जोड दिए ।


अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बोहरा पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाले दुई वर्षदेखि काम थालेको भन्दै सबैले दीगो पर्यटन र पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नु आग्रह गर्छन् । उनले भने ‘गाउँपालिकाले गर्ने काम समन्वयात्मक तवरले गर्दै आएको छ । पर्यटन गुरुयोजना बनाएर अघि बढ्ने योजना छ ।’ भर्जिन पर्यटकीय गन्तव्यलाई संसारभर चिनाउने प्रयास जारी छ ।
अपि वेश क्याम्प पुग्नको लागि दुई वर्षदेखि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र युएनडिपीको संयुक्त लगानीमा संचालित परियोजना एसटीएलआरपीले टे«किङ प्रवद्र्धनमा सहयोग पु¥याएको छ ।
पछिल्लो दशै तिहारको समयमा मात्रै दुई सय बढि आन्तरिक तथा १५ जना विदेशी पर्यटकले अपि हिमाल टे«किङ गरेको पर्यटकीय सूचना केन्द्र मकरीगाडले जनाएको छ ।
आन्तरिक पर्यटक के भन्छन्
दार्चुलाको अपिहिमालसम्मको ट्रेकिङ आन्तरिक तथा बाह्य पर्यटकको लागि सहज गन्तव्य हो । ठाउँ–ठाउँमा निर्माण गरिएको होमस्टे, तथा चौडा घोरेटो बाटोका कारण आवतजावतमा सहजता आएको पोखराबाट अपि टे«किङमा आउनुभएका किशोर भण्डारीले बताए । फोटो खिच्न र ठाउँको बारेमा जानकारी राखिएका छन् । धौलीओडारमा पर्यटकको लागि बस्न सहज भएको छ ।


चमेलिया नदीको तिरैतिर सुन्दर गाउँ हेर्दै, झरना नियाल्दै अनि जङ्गलको बीचबाट हिंड्नुको मज्जा नै बेग्लै रहेको रुपेन्देहीका किशोर भण्डारीले बताए । मानिसको भीडभाड नहुने, प्रसस्तै प्राकृतिक सुन्दरता, न्यानो आतिथ्यता र उत्कृष्ट गन्तव्यको लागि अपी हिमाल ट्रेकिङ नै उपयुक्त हुने उनको भनाई छ ।
पर्यटकहरु आएपछि सबैभन्दा बढि भाइरल भइरहेको छ, चमेलिया मुहान र कालीढुङ्गा ताल । टिकटकहरुमा सबैभन्दा बढि यि दुवै ठाउँका दृष्य देख्न सकिन्छ । चमेलिया किनारैकिनार भएर वेश क्याम्प सहजै पुगिने भएको कारण पनि पर्यटकको रोजाईमा अपि वेशक्याम्प परेको छ ।


होमस्टे सञ्चालक देवेन्द्र जागरी आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमा स्वागत गर्न पाउँदा निकै आनन्दित हुने गरेको सुनाउँछन् । गाउँमा जे पाउँछ त्यहीँ खुवाउने हो । थोरै भए पनि बाहिरका मान्छेले यो क्षेत्रको ठाउँ चिनेका छन् । दिनहुँ घुम्न आउनेहरुले थोरै भए पनि स्थानीयको आम्दानीको श्रोत बनेको जागरी बताउँछन् ।
स्थानीय मल्देशी संस्कृति
यहाँ मौलिक भाषाको गीत र पहिरनमा नाचिने संस्कृति, परम्परा अनि भेषभूषाको पनि छुट्टै आकर्षण छ । खण्डेश्वरीमा बाइसे चौबिसे राज्य व्यवस्था भएको समय देखि नै चलिआएको मल्देशी संस्कृतिको पहिरन र चाहाई नाचको सुन्दरता यहाँको अर्को विशेषता हो । अपिहिमाल गाउँपालिका–४ नौपाटा होमस्टेमा पुग्ने पर्यटकले यो संस्कृतिको आनन्द लिन सक्छन् ।


भेडाको ऊन, भाङगो जस्ता घरेलु उत्पादनबाट आफ्नो पहिरन निर्माण गरेका कारण पनि पहिरन छुट्टै देखिन्छ । ठाउँ ठाउँमा आमा समूहले छुट्टै संस्कृति देखिने गरी पहिरन र स्वागत गर्ने गर्छन् । यहाँको मौलिक दमाहा बाजा र पहिरने जो कोहि पनि रमाउन सक्छन् ।
पर्यटकको चाहना अनुसार स्थानीयले आफ्ना प्रस्तुति राख्ने गर्छन् । स्थानीय खानपिन यहाँको अर्को विशेषता हो ।

कसरी पुग्ने अपि हिमाल ?
अपि हिमाल वेशक्याम्प पुग्न काठमाण्डौंबाट एक घण्टा हवाई दुरीमा धनगढी पुगिन्छ । धनगढी अतरियाबाट २६० किलोमिटर बस तथा जीपको यात्राबाट दार्चुलाको मार्मा गाउँपालिका लटिनाथसम्म पुग्न सकिन्छ ।
धनगढी अतरियाबाट दार्चुलाको मार्मा सम्म पुग्न सहजै बस तथा जीपहरु नियमित चल्ने गर्छ । यो ठाउँको यात्रा १३ घण्टाको हुनेछ । बसहरु मार्मा गाउँपालिका लटिनाथसम्म जाने गर्छ भने जीप भेट्टाउनु भयो भने अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म सहज रुपमा चल्छ । लटिनाथबाट मकरीगाडसम्मको दुरी १३ किलोमिटर हो ।


मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ । जसबाट कुन मार्ग भएर वेश क्याम्प पुग्ने, होमस्टेको बारेमा जानकारी लिन र घुम्नै परे गाइडको व्यवस्थापन, भरिया व्यवस्थापन गर्न सहज हुने छ । सूचना केन्द्रमा अक्कलसिह ठगुन्नाले पर्यटकीय गन्तव्यको बारेमा विस्तृत जानकारी दिने गरेका छन् ।
मकरीगाड पुगेपछि दुई वटा मार्ग छन् । एउटा मार्ग गाउँपालिका केन्द्र खण्डेश्वरी हुँदै वेश क्याम्प पुग्ने हो । खण्डेश्वरी जान मकरीगाडदेखि उकालो लाग्दा ४ हजार पाँच सय सिढिं चढ्नुपर्छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको सिढि निकै सुन्दर छ । पालिका पुग्न ६ किलोमिटर दुरी छ । त्यहाँ गाउँपालिका नजिकै नौपाटा होमस्टे छ ।
यो होमस्टेमा पर्यटकलाई स्वागत गर्न आमा समूह तथा स्थानीय क्लव छन् । जसले सांस्कृति मनोरञ्जन पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।
अर्को मकरीगाडबाट खण्डेश्वरीको फेद हुँदै घुसा पुग्न सकिन्छ । घुसा, नालीमा पर्यटक बस्न होमस्टे निर्माण गरिएको छ । घुसा नालीबाट दुई घण्टा ट्रेकिङ गर्ने वित्तिकै अपिहिमाल गाउँपालिका–१ को सीति खायकोटमा होमस्टे छ । जहाँ सहजै खाना र बस्नको लागि व्यवस्था गरिएको छ ।


खायकोटबाट सीमार छिरछिरे लगायतका क्षेत्रमा पर्यटक बस्ने खान सुविधा छ । सीमारबाट धौलीओडार पुग्न ९ किलोमिटर दुरी छ । जहाँ अहिले पर्यटक बस्ने उत्कृष्ट ठाउँ बनेको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय आवास गृह बनाएपछि बाँस बस्न र खान सहज सुविधा छ ।
धौलीओडारबाट अपि हिमाल वेशक्याम्पसम्म पुग्न ३ किलोमिटर दुरी छ । पुरै मैदानी फाँट रहेको पिलकन्दह पुग्ने वित्तिकै अपिहिमाल, नाम्पा हिमालको दर्शन गर्न सकिन्छ । पिलकन्द दहबाट कालीढुंगा तालसम्म पुग्न २ घण्टा समय लाग्छ । यो ताल निकै आकर्षक र सुन्दर छ ।


मैदानी घासे मैदान रहेको यो क्षेत्र वरिपरि वैशाख जेठ र असार महिनामा यार्सागुम्बा संकलकहरुको भीड लाग्ने गर्छ । अपिका स्थानीयले भेडा, बाख्रा पशु चौपाया चरिचरनको लागि लैजाने गर्छन् ।
अपि नाम्पा संरक्षण क्षेत्र भएको कारण यो क्षेत्रमा वन्यजन्तु, चरा लगायतको अवलोकन गर्न सकिन्छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र २५ प्रकारका स्तनधारी, २४३ प्रजातिका चराहरु र ७५ प्रकारका जडिबुटी पाइने गरेको छ । जसमध्ये अधिकांश पाइने स्थल अपि हिमाल वेश क्याम्प वरपरी हो ।

सम्बन्धित समाचार

ताजा समाचार