नेकपा एमालेले दार्चुलाका अधिवेशन गर्न बाँकी रहेका पाँच ओटा वडामा मंसिर मसान्तभित्र वडा अधिवेशन गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको मंगलबार बसेको चौथो विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।
६१ वटा वडा रहेको दार्चुलाका पाँच वटा वडामा अधिवेशन गर्न बाँकी छ । एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीका अनुसार महाकाली नगरपालिका वडा नम्बर ४, ५ र ६, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ५ र शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा वडा अधिवेशन गर्न बाकी रहेको छ ।
यी वडामा वडा अधिवेशन गर्न बैठकले निर्णय गरेको उनले बताए । यस्तै पुष मसान्तभित्र ९ वटै स्थानीय तहमा पार्टी प्रशिक्षण कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । मंसिर १६ गते हुने दुहुँ गाउँपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन भूमिका खेल्ने एमालेले निर्णय गरेको छ ।
एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा बसेको बैठकमा एमाले पोलिटव्यूरो सदस्य एवं दार्चुला इन्चार्ज गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्य रहेको थियो । यस्तै केन्द्रीय सदस्य हरदेव जोशी, प्रदेश कमिटी सदस्य, जेष्ठ सल्लाहकार सदस्य, पार्टीका सदस्य, पालिका कमिटी अध्यक्ष जनवर्गीय संगठनका प्रमुख लगायतको बैठकमा सहभागिता रहेको थियो ।