सुदूरपश्चिममा ओल्के संक्रान्ति र बुढी हाल्ने पर्व मनाइँदै

दार्चुला । दार्चुलासहित सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के र बुढी हाल्ने पर्व मनाइँदै छ । पहाडी समुदायका मानिसहरुले हरेक बर्षको भाद्र संक्रान्तिलाई ओल्के पर्वका रुपमा मनाउने गरेका छन् । ओल्के पर्वपछि अन्य चाडपर्व शुरु हुने भएकाले यसलाई जेठो पर्वका रुपमा मनाउने गरिएको छ ।

ओल्को भन्नाले ओलक, उपहार, कोसेली मानिन्छ । प्राज्ञ नेपाली बृहत् शब्दकोशमा ओल्को भन्नाले १० भाद्र सङ्क्रान्ति, भदौ २० भाद्र सङ्क्रान्तिका दिन तल्लो जातले माथिल्लो जातका मानिसलाई दिने कोसेली (फलफूल, सागपात आदि), ३० भाद्र सङ्क्रान्तिका दिन आफन्त, मान्यजनका घरमा लगी दिइने फलफूल सागपात आदि कोसेली वा त्यस्तो कोसेली दिने पर्व । यसका साथै बिहानै नुवाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने चलन पनि रहेको पाइन्छ ।

वर्षा पछिको संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन रही आएको स्थानीय संस्कृतिका जानकारहरु बताउछन् । दार्चुला र बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा आज नयाँ मकै, गाभा चढाएर ओल्को दिने परम्परा रहेको स्थानीयहरु बताउछन् । ओल्के पर्वमा विवाहित छोरी बहिनीहरु माइतीमा आउने चलन छ ।

कतिपय ठाउँमा आजका दिनलाई ‘गब्या त्यार’भन्ने चलन रही आएको छ ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हालेको भन्ने गरिएको छ ।

भाद्र संक्रान्तिका दिन हालेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ । असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ । यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ । बुढी पोल्ने पर्व र ओल्केको रौनकता पछिल्लो समय घट्दै गएको बुढापाखाहरु बताउछन् ।

सम्बन्धित समाचार

ताजा समाचार