काठमाण्डौ – देशभर ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा विभागले यस्तो जानकारी दिएको हो ।
विभागका महानिर्देशक रामहरि पोखरेलले गएको फागुन मसान्तसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक विस्तार भएको जानकारी दिनुभयो ।
यसैगरी, राष्ट्रिय गौरवका आयोजनामध्ये पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाअन्तर्गत एक हजार चार सय ५२ किलोमिटर सडक र एक सय पाँचवटा पुल निर्माण भएको छ । विभागकाअनुसार कोशी करिडोरमा दुई किलोमिटर सडक कालोपत्र र १० वटा पुलको निर्माण सम्पन्न भएको छ ।
कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड अन्तर्गत एक सय ९० किलोमिटर र मालढुङ्गा–बेनी–जोमसोम खण्ड अन्तर्गत ५१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ ।
यसैगरी, कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्ला सदरमुकाम सिमीकोट पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले अहिले सञ्चालन भइरहेको कुर्था–जनकपुुर रेलमार्गमा दुई वटा रेल थप्नुपर्ने र त्यहाँको मार्गलाई बर्दिवाससम्म पुर्याउनुपर्ने बताउनुभयो । उहाँले पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्नुपर्ने र काठमाण्डौमा जमिनमुनी रेल चल्न सम्भव नभएकाले स्काइ रेल चलाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनास्तरीय ढङ्गले छिटो सम्पन्न गर्नको लागि ध्यान दिन पनि आग्रह गर्नुभयो ।