सुदूरपश्चिमकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापा बर्खास्त

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई पदबाट बर्खास्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूह) बाट मन्त्री भएकी थापालाई आइतबार मुख्यमन्त्री सोडारीले पदबाट हटाएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका सात जना सांसदमध्ये दुई जना सांसदले बिद्रोह गरेर सोडारीको नियुक्तिमा सघाएका थिए । बिद्रोह गरेका टीका थापा र कैलाश चौधरी मन्त्री भएका थिए ।
विपक्षी दलहरु कांग्रेस एमालेको मागमा आह्वान भएको विशेष अधिवेशनको बैठकमा मन्त्री थापा सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो । विपक्षीले मागेको विशेष अधिवेशनको बैठकमा सरकार पक्षसहित कुनै पनि मन्त्री उपस्थित नहुने रणनीतिमा सरकार पक्ष थियो । तर मन्त्री थापा बैठकमा उपस्थित भएपछि उनलाई पदबाट हटाइएको सरकारका प्रवक्ता अक्कलबहादुर रावलले बताए ।
प्रदेश सभा बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएमा बैठक सञ्चालन हुन सक्दैन । सरकार पक्ष बैठक सञ्चालन नहोस् भन्ने पक्षमा थियो । सुदूरपश्चिम साउन १ गतेदेखि बजेटविहीन छ । नियमित अधिवेशनबाट बजेट पारित गराउन नसकेपछि सरकारले प्रदेश सभाको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने प्रयास गरेको थियो ।
तर प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेकै दोस्रो दिन विपक्षी दलहरुको माग तथा संवैधानिक व्यवस्था अनुसार साउन ४ गते प्रदेश प्रमुखले साउन ८ गते विशेष अधिवेशन आव्हान गरेका थिए । मन्त्री थापा सुरुकै दिनको बैठकमा उपस्थित भएकाले बैठक सञ्चालन भएको थियो । आइतबार दोस्रो दिन बैठक बसेको हो । आइतबार पनि मन्त्री उपस्थित भएकाले बैठक सञ्चालन भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार