मालिकार्जुनमा २३४ जना ज्येष्ठ नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

मालिकार्जुन गाउँपालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको माछापुच्छ«े बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई शिविरको माध्यमबाट वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै बुझ्न पाएपछि जेष्ठ नागरिक पनि खुसी भएका छन् । ज्येष्ठ नागरिक गणेशसिह धामीले भने, ‘पालिकाले वडातहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि पालिकाको बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।’ यस कार्यले हामीलाई निकै राहत महशुस भएको छ । पालिकासम्म पुग्न धेरै समय लाग्थ्यो । वडामै आएर भत्ता पाएपछि समय बचत पनि भएको उनले बताए ।


अर्का ८५ वर्षीय बीरसिह धामी सामाजिक सुरक्षा भत्ता बुझ्न वडामै कर्मचारी आएपछि मख्ख छन् । उनले भने, ‘हामीजस्ता अपांगता भएका व्यक्तिको लागि वडामै भत्ता बुझ्न पाउन खुसीको कुरा हो । पालिका पुग्दा कति ओकालीओराली गर्नुपथ्र्यो । अहिले वडामै कर्मचारी र बैंक नै पुगेपछि यो भन्दा सहजता अरु के हुन सक्छ ।’


मालिकार्जुन गाउँपालिका–२ का चिमती धामी तीन घण्टा हिड्नुपर्ने ठाउँमा अहिले वडामै भत्ता बुझाउन कर्मचारी पुगेपछि एक घण्टामै भत्ता लिन सहज भएको सुनाइन् । पालिकाले जनतालाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि स्थानीयको समय पनि बचत भएको छ ।


गाउँपालिकाले ८ वटा वडामध्ये ६ वटा वडाहरुमा पुगेर १ सय ५४ जना महिला तथा ८० जना पुरुष गरि कुल २ सय ३४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सामान्य हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरु, अपाङ्गता भएका नागरिक, बैंकसम्म स्वयंम उपस्थित हुन नसक्ने अवस्था आएपछि पालिकाले हरेक त्रैमासिकमा लाभग्राहीहरुलाई वडास्तरबाटै भत्ता वितरण गर्ने गरेको मालिकार्जुन गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख एवं एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीले जानकारी दिए ।


मालिकार्जुन गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ का वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
वडा नम्बर ७ का ज्येष्ठ नागरिकको खाता भने ग्लोबल बैंकमा खोलिएको छ । ग्लोबल बैंक वडामा नहुँदा सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने गरेको वडाअध्यक्ष बहादुर चन्दले बताए । उनले भने, ‘पहिल्यै ग्लोबल बैंकमा खाता खोलिएको रहेछ, अहिले टाढा भएर समस्या भयो भन्ने गुनासो छ ।’ पालिकामार्फत वडामै सामाजिक सुरक्षा पुग्ने व्यवस्थाको लागि आग्रह गरिएको उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार