दार्चुलाका प्रिन्स प्रशिक्षक विनै पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्ने

नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम उपलब्ध नगराउँदा पहिलोपटक ओलम्पिकमा सहभागी हुन लागेका ब्याडमिन्टनका प्रिन्स दाहाल प्रशिक्षक विनै हुनेछन् । पेरिस ओलम्पिकमा छनोट भएका अन्य खेलाडीले प्रशिक्षकसहित तयारी थाल्दा ब्याडमिन्टनका प्रिन्स दाहाल भने अपवाद बनेका छन् । ब्याडमिन्टनबाट पहिलोपल्ट ओलम्पिकमा सहभागी हुन लागेका प्रिन्सले प्रशिक्षकबिनै ओलम्पिकमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
नेपालको प्रतिनिधित्व गर्दै पेरिस ओलम्पिक–२०२४ मा भाग लिइरहँदा प्रिन्सको साथमा कुनै पनि नेपाली प्रशिक्षक रहने छैनन् । मैदानमा भिडिरहँदा उनी त्यहाँ एक्लो हुनेछन् । ओलम्पिकमा प्रिन्सका लागि छुट्याइएको प्रशिक्षक सिट ‘खाली’ हुनेछ ।
किन पाएनन् प्रशिक्षक ?
प्रिन्सले पेरिस ओलम्पिकका लागि प्रशिक्षक नपाउनुमा ब्याडमिन्टन संघ र ओलम्पिक कमिटी दुवै उत्तिकै जिम्मेवार छन् । संघले बेलैमा प्रशिक्षकको नाम पठाउन सकेन भने, ओलम्पिक कमिटीले समयमा लङ लिस्ट तयार गर्न सकेन ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार ब्याडमिन्टन संघ नवीकरण पनि भएको छैन । यद्यपि, पदाधिकारी भने संघ नवीकरण भइसकेको दाबी गर्दै आएका छन् । संघले ओलम्पिकमा प्रिन्स सहभागी हुने या नहुने भन्ने विषयमै अन्योल रहेकाले आफूहरुले बेलैमा प्रशिक्षकको नाम पठाउन नसकेको बताउँछन् ।
‘पहिले त प्रिन्स हुने नहुने फिक्स नभएको र संघलाई लङलिस्टमा प्रशिक्षकको नाम मार्चभित्रमा पठाइसक्नु पर्ने थाहा नभएपछि उसलाई ओलम्पिकमा प्रशिक्षक पठाउन समस्या भएको हो,’ संघका संयोजक रामजी बहादुर श्रेष्ठ भन्छन् ।
प्रिन्स नेपाल ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो खेलाडी भएकाले पनि प्रक्रियाबारे अन्योल भएको श्रेष्ठको दाबी छ । ‘ओलम्पिक कमिटीबाट हामीलाई लङलिष्टको बारेमा जानकारी भएन, जसले गर्दा हामीले प्रशिक्षक पठाउन ढिला भयो’, उनले भने ।
प्रिन्स २ वर्ष यता ओलम्पिकको छात्रवृत्ति पाइरहेका खेलाडी हुन् । त्यस्तै उनले ब्याडमिन्टन एसियाबाट पनि वर्षमा ३ हजार डलरका दरले छात्रवृत्ति पाइरहेका थिए । जसमा उनले धेरै अन्तर्राष्ट्रिय स्तरमा अंक प्राप्त गर्दा एसियन क्षेत्रमा सबैभन्दा धेरै अंक प्राप्त गर्दै ओलम्पिक छनोट भएका हुन् ।
प्रिन्सका लागि छुट्टै प्रशिक्षक पठाउन नसके पनि हाल श्रीलंकामा प्रशिक्षण गराइरहेका प्रशिक्षक टोनी वाहयुदीले ओलम्पिकमा उनलाई निरीक्षण गर्ने संघले दाबी गर्दै आएको छ । यद्यपि, प्रिन्स भने टोनी पनि पेरिस ओलम्पिकमा सहभागी नहुने बताउँछन् ।
देशको प्रतिनिधित्व गर्दै ओलम्पिकमा बिनाप्रशिक्षक सहभागी हुनुपर्दा ‘टुहुरो’ महसुस भएको प्रिन्स सुनाउँछन् । ‘प्रशिक्षकबिना अप्ठ्यारो त हुन्छ नै । आफैं म्यानेज गर्ने त होला !’ उनी भन्छन्, ‘अब आफैं खेल्नुपर्ने भयो ।’
अनलाइन खबरबाट

सम्बन्धित समाचार

ताजा समाचार