दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेवल पुलको काम अन्तिम चरणमा पुगेको छ । महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम क्षेत्रमा नेपाल –भारत जोडने पुल निर्माण भइरहेको हो ।
पुलको काम अन्तिम चरणमा पुगेको महाकाली नगरपालिका वडा नम्बर ८ का स्थानीय इन्द्रसिह धामीले बताए । नेपाल र भारत जोडने मोटरेवल पुल निर्माणपछि व्यापारिक चहलपहल बढ्ने स्थानीय बताउँछन् ।
भारतीय पक्षले निर्माण गर्ने एक सय १० मिटर लम्बाईको उक्त मोटरेबल पुलको जग हाल्ने काम सम्पन्न भइसकेको छ । डबल लेनमा निर्माण सुरु गरिएको पुल भारतीय कम्पनी पीएण्ड आर इन्फ्रा प्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरिरहेको छ । कुल ३२ करोड ९८ लाख भारतीय रुपैयाँमा पुल निर्माण कार्य भइरहेको छ ।
नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणपश्चात् दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना रहेको व्यापारीहरु बताउँछन् । भारततर्फ अहिले डबल लेनका सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ ।


नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माण अन्तिम चरणमा





