दार्चुलामा भारतीय राजदुताबासका द्वितीय सचिव प्रशान्तकुमार सोनाको दौडधुप चलेको छ । दुई दिनको अवधिमा सोनाले दुई वटा विद्यालय भवनको शिलान्यास तथा एक विद्यालय भवनको उद्घाटन गरे ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत तीन करोड ३७ लाखमा निर्माण गरिएको दुहुँ गाउँपालिकास्थित जनविकास माविको विद्यालय भवनको उद्घाटन गरेका हुन् । शुक्रबार दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावासका द्वितीय सचिव सोनाले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । निकै तामझामका साथ विद्यालय भवनको उद्घाटन गरिएको छ ।
यस्तै भारत सरकारको दुई करोड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने दार्चुलाको व्याँस गाउँपालिका–६ स्थित हिमालय माध्यमिक विद्यालयको भवन शुक्रबार नै शिलान्यास गरिएको छ । व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव सोनाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।
यस्तै बिहीबार शैल्यशिखर नगरपालिका–८ स्थित गलैनाथ मावि झरकडामा निर्माण हुन लागेको विद्यालय भवनको शिलान्यास गरिएको थियो ।
शैल्यशिखर नगर प्रमुख विजयसिह धामी र द्धितीय सचिव सोनाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका थिए । ३ करोड ११ लाखको लागतमा दुई वटा ब्लक निर्माण हुनेछ ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगले व्याँस गाउँपालिकाको हिमालय मावि हुती, शैल्यशिखर नगरपालिका–८ को गलैनाथ मावि झकरडामा भवन निर्माण हुदैछ ।
भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशमा ४० वटा परियोजना छन्, जसमा १० वटा परियोजना दार्चुलामा छन् ।
