छ वर्षदेखि भाडा भवन प्रयोग गर्दै आइरहेको शैल्यशिखर नगरपालिकाले अहिले भने आफ्नै प्रशासकीय भवन निर्माणको कार्यलाई प्राथमिकता दिएको छ । अघिल्लो पाँच वर्षमा प्रशासकीय भवन निर्माण कार्य अघि बढ्न नसकेको भन्दै नगर प्रमुख विजयसिह धामीले भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।
जनताको प्रत्यक्ष सरोकार जोडिएको भवन अभावमा सेवा प्रभावमा समस्या भएको भन्दै उनले भवन निर्माणलाई समयमै सक्ने गरी प्राथमिकता दिएको बताए । जनतालाई सहजरुपमा सेवा दिन प्रशासकीय भवन आवश्यक थियो । अहिले हाम्रो भवन निर्माण कार्यले प्राथमिकता पाएको छ । ‘हामी नगरपालिकामा आएपछि पहिलो प्राथमिकतामा भवन निर्माण राखेका छौ,’ उनले भने ।
गत वैशाख १ गते भवन निर्माणको लागि बोलपत्र आह्वान गरिएको थियो । स्थानीय पुर्वाधार विभाग र शैल्यशिखर नगरपालिकाको साझेदारीमा नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य भइरहेको छ ।
निर्माण व्यवसायीसँग असार ९ गते ठेक्का सम्झौता भएको छ । दुई वर्षमा निर्माण कार्य सम्पन्न गरि सक्ने गरी चादनी नमस्कार जेभीले भवन निर्माण गरिरहेको छ । कूल १० करोड १९ लाख ६४ हजार ३४२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
नयाँ निर्माण भइरहेको प्रशासकीय भवनचारतल्लाको बन्नेछ । अहिलेसम्म दुई ताला निर्माण कार्य सकिएको इन्जिनियर योगेश धामीले जानकारी दिए । भवनमा नगरपालिकाका सम्पूर्ण शाखाहरु र बैठक हल, लिफ्ट र गाडी पार्किङ्को व्यवस्था रहनेछ ।
नगरपालिकाले भवन अभावमा कर्मचारीलाई बस्न समेत समस्या छ, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले भने । अहिलेको भाडाको भवनमा ठाउँ पनि छैन् । कर्मचारी असुरक्षित भएर काम गर्नुपर्ने अवस्था छ । नयाँ भवन निर्माणपछि फराकिलो ठाउँमा सेवाग्राहीलाई समेत सेवा दिन सजिलो हुने उनको विश्वास छ ।
नगर प्रमुख धामी प्रशासकीय भवन निर्माणको काम जसरी भएपनि समयमै सक्ने बताउँछन् । जनतालाई प्रत्यक्ष सेवा दिने ठाउँ प्राथमिकता राखेर काम अघि बढाएका छौं । कर्मचारी र सेवाग्राहीको समस्या समाधान भवन निर्माणपछि सहज हुनेछ ।


शैल्यशिखरमा प्रशासकीय भवन निर्माणको काम प्राथमिकता





