काठमाण्डाै – कास्कीकाे पोखरा र मुस्ताङको जोमसोम हवाई सेवा तीन महिनापछि सञ्चालनमा आएको छ ।
पोखरादेखि मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गएको मङ्सिर दोस्रो हप्तापछि बन्द भएको थियो । समिट एअरलाइन्सले हिजोदेखि उडान भर्न थालेको छ ।

तारा एअरलाइन्सले केही दिनमै पोखरा–जोमसोम उडानको तयारी गरेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताउनुभयो । मौसममा सुधार हुन थालेको र पर्यटकीय याम शुर भएकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यो हवाई उडानबाट स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज हुन्छ । अहिले म्याग्दीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।
अघिल्लो वर्ष सन् २०२३ मा ९१ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।







