दार्चुला सदरमुकाम खलंगामा कुकुरहरुमा निशुल्क वन्ध्याकरण शिविर सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले शुक्रबार र शनिबार दुई दिन निशुल्क बन्ध्याकरण शिविर आयोजना गरेको जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजना तथा महाकाली नगरपालिका पशु सेवा शाखाको सह आयोजनामा दुई दिन नि शुल्क बन्ध्याकरण शिविरको आयोजना गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख गुमानीदत्त पन्तले जानकारी दिनु भएको छ ।
पछिल्लो समय जिल्लामा घरपालुवा तथा सामूदायिक कुकुरहरुको संख्या वृद्धि हुदै गएसँगै रेबिज नियन्त्रणका लागि निशुल्क बन्ध्याकरण शिविर आयोजना गरिएको उहाँले बताउनु भयो । वन्ध्याकरण गरी कुकुरहरुको संख्या नियन्त्रण गर्नसके मात्र पनि रोग संक्रमणमा कमी हुने भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ । नेपाल सरकारले सन २०३० सम्ममा पशुपंक्षीमा लाग्ने प्रमुख रोगहरुलाई उन्मुलन गर्ने कार्यक्रम राखेको छ ।
सोही कार्यक्रम अन्तरगत तिनै तहको सरकारकबाट रेविज रोग उन्मुलनका लागी व्यापक अभियानको रुपमा वन्ध्याकरण शिविर सञ्चालन गर्ने, रेविज रोग विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । शिविरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर दिगम्बर जोशी पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक लगायतले कुकुरहरुको बध्याकरण र रेविज विरुद्धको खोप सेवा प्रदान गरिरहेका छन ।