काठमाण्डौ । पहाडी भेगका केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज गण्डकी, कोशी र कर्णाली प्रदेशका केही पहाडी भेगमा पानी पर्ने सम्भावना छ ।
हिजो पनि गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी परेको थियो । हिजो काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि फाट्टफुट्ट पानी परेको थियो । तर आज काठमाण्डौ उपत्यकामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । यस्तै, देशका सबै ठाउँमा एकैपटक पानी पर्ने सम्भावना पनि तत्काल नरहेको उहाँले बताउनु भयो ।
हिजो सिन्धुपाल्चोक, दोलखा, लमजुङ, मनाङ, म्याग्दी, ताप्लेजुङ र गोरखाका उच्च पहाडी भेगमा वर्षा तथा हिमाली भेगमा हिमपात भएको थियो । आज पनि कोशी, बाग्मती, गण्डकी प्रदेशकासहित देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् प्रधानाङ्गले बताउनु भयो ।
यस्तै, तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केहीदिन नहट्ने मौसमविद्ले बताएका छन् । तराईका कुनै(कुनै ठाउँमा बेलुकासम्म नै बाक्लो हुस्सुले ढाकिरहेको छ भने शीतलहर पनि चलेको छ । बाक्लो हुस्सुले तराई क्षेत्रका सबैजसो विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।
सडकमा गाडीहरु दिउँसै बत्ती बालेर गुडिरहेका छन् । बाक्लो हुुस्सु र शीतलहरका कारण तराईका बासिन्दालाई घरबाहिर निस्कन पनि गाह्रो हुने गरेको छ । केही पालिकाहरुले दाउरा बाँडेर आगो ताप्ने व्यवस्था गरेका छन् ।