चालु आर्थिक वर्षमा नेपालले ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन गरेको छ । बर्खे धानवालीको उत्पादन बढ्दा धान खेति हुने क्षेत्रफल घटेपनि धान उत्पादन भने बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा यो वर्ष ४।३३ प्रतिशतले धानको उत्पादन बढेको छ । धानको उत्पादनको क्षेत्रफलमा भने संकुचन देखिएको छ ।
मन्त्रालयकाअनुसार चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको छ । गत आर्थिक वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
सातै प्रदेशको कृषि मन्त्रालयले जिल्लाबाट संकलन गरेको तथ्यांक र इसिमोडले उपलब्ध गराएको स्याटेलाइट इमेलको सहयोगमा उत्पादनको तथ्यांक विश्लेषण गरि उत्पादनको अवस्था पहिचान भएको मन्त्रालयले जनाएको छ ।
तराई मधेशमा लगाइएको धानवालीको क्षेत्रफल र चालु आर्थिक वर्षमा भएको रोपाईको प्रतिशत दरलाई आधार मानेर धानको उत्पादन परिमाण निकालिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार धान खेति गर्ने क्षेत्रफल ८ हजार ८ सय हेक्टर घटेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा ०।६१ प्रतिशतले धानवालीको क्षेत्रफल घटेको हो । चालु आबमा १४ दाख ३८ हजार ९ सय ८९ हेक्टरमा धानको रोपाइ भएको थियो ।
बढ्यो उत्पादकत्व
मन्त्रालयले दाबी गरेअनुसार चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४.९७ प्रतिशतले धानको उत्पादकत्व बढेर प्रति हेक्टर ३.९८ मेट्रिक टन पुगेको छ ।
पछिल्लो ४ वर्षको औसत उत्पादकत्वको तुलनामा ६।९२ प्रतिशतले चालु आर्थिक वर्षमा उत्पादकत्व बढेको मन्त्रालयको दाबी छ । यो वर्ष सर्वाधिक धान फलाउने प्रदेश कोशी बनेको छ । यस अघि सबै भन्दा धेरै धान मधेश प्रदेशमा फल्ने गरेको थियो ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सातै प्रदेशमध्ये कोशी प्रदेशमा सर्वाधिक धान फलेको छ । कोशीमा ३ लाख २४ हजार ४ सय १ हेक्टरमा धानको रोपाई भएको थियो । यो प्रदेशमा १४ लाख ३५ हजार ५ सय ७८ मेट्रिक टन धान फलेको छ । यो प्रदेशमा धानको उत्पादकत्वसमेत बढेको छ । कोशीमा प्रति हेक्टर ४।४५ मेट्रिक टन धान फलेको छ ।
उत्पादन र उत्पादकत्वको आधारमा कोशीपछि लुम्बिनी प्रदेशमा उत्पादन बढेको छ । लुम्बिनीमा ३ लाख २ हजार ३ सय ८६ हेक्टरमा रोपाई भएको थियो । जसबाट १३ लाख १० हजार ८ सय २९ मेट्रिक टन धान फलेको थियो ।
अन्नको भण्डार मानिने मधेश प्रदेशमा भने उत्पादन र उत्पादकत्व दुवै घटेको छ । मधेशमा ३ लाख ८३ हजार १ सय ८३ हेक्टरमा धान रोपाई भएको थियो । जसबाट १३ लाख ३७ हजार ६ सय ७२ मेट्रिक टन धान उत्पादन भएको छ । मधेशमा प्रति हेक्टर ३।४९ मेट्रिक टन धान फलेको छ ।
धान रोपाई हुने समयमा तराई मधेशमा पर्याप्त परिमाणमा अकाशे पानी नपरेको, निक्कै ढिलो गरि रोपाई भएको र रोपाई भइसक्दा पनि अकाशे पानीको अभाव हुँदा अन्य प्रदेशको तुलनामा मधेशमा धानमा कमी आएको हो ।
बागमतीमा १ लाख २८ हजार ९ सय ३ हेक्टरमा रोपाई हुँदा ५ लाख ४ हजार ३ सय ४४ मेट्रिक टन धान फलेको थियो । यस्तै सुदुरपश्चिममा १ लाख ५६ हजार २ सय ८९ हेक्टरबाट ५ लाख ९९ हजार १ सय २४, गण्डकीमा १ लाख १ हजार ९ सय २३ हेक्टरबाट ३ लाख ९१ हजार ६ सय २४ र कर्णालीको ४१ हजार ९ सय ४ हेक्टरबाट १ लाख ४५ हजार ६३ मेट्रिक टन धान फलेको छ । सिधाकुरा बाट