एमालेले बैतडीको झुलाघाटबाट थाल्ने संकल्प यात्राको तयारी पूरा

बैतडी –नेकपा एमालेले बैतडीको झुलाघाटबाट शुरु गर्ने झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तयारी पूरा भएको जनाएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान साढे ८ बजे झुलाघाटबाट उद्दघाटन गर्ने यात्राको तयारी पूरा भएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । केन्द्रीय कार्यक्रम अनुसार संकल्प यात्राको उद्दघाटन बैतडीबाट हुने उपसचिव भण्डारीले बताए ।

संकल्प यात्राको तयारीका लागि यसअघि नै गठन भएका उपसमितिहरुले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका बताइएको छ । संकल्प यात्राको लागि ३ सय जना स्वयंसेवक खटाइएका उपसचिव भण्डारीले बताए । उनले भने ‘भोलि बैतडीको झुलाघाटबाट शुरु हुने संकल्प यात्राको उद्दघाटन समारोहको तयारी पूरा भएको छ । मञ्च निर्माणदेखि अन्य व्यवस्थापनको काम सकिएको छ ।’

विकास र समृद्धिका लागि बहस गर्ने उद्देश्यसहित संकल्प यात्रा अभियान शुरु गरिन लागेको उपसचिव भण्डारीले बताए ।

संकल्प यात्राको उद्दघाटन गरिने स्थान झुलाघाटमा पनि आवश्यक तयारी पूरा भएको छ । बिहान साढे ८ बजे अध्यक्ष ओलीसहित केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरुको सहभागितामा अभियानको उद्दघाटन हुने नेकपा एमाले बैतडीले जनाएको छ ।

झुलाघाटमा यात्राको उद्दघाटनपछि बिहान ११ बजे गोठलापानीमा आमसभा हुने र आमसभालाई अध्यक्ष ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उपसचिव भण्डारीले बताए ।

यस्तै बझाङ जिल्लाका नेता कार्यकर्ताहरुको सहभागितामा बैतडीको खोड्पेमा भोलि सन्देश सभाको आयोजना गरिने बताइएको छ । गोठलापानीको आमसभापछि अध्यक्ष ओलीसहितको टोली खोड्पे पुग्नेछ । भोलि साँझ अध्यक्ष ओलीसहितको टोली डडेल्धुरा बस्ने कार्यक्रम रहेको उपसचिव भण्डारीले बताए ।

संकल्प यात्राको स्थानीयस्तरमा गर्नुपर्ने सबै तयारी पूरा भइसकेको छ । संकल्प यात्रा १९दिन सम्म सञ्चालन हुने जनाइएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली बैतडी आउने भएपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको सुरक्षास्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार