मङ्सिर ७ गते ढुक्क भएर दैनिक काम गर्नुस् प्रहरी

काठमाण्डौ – भोलि बिहीवार मङ्सिर ७ गतेको विरोध प्रदर्शनलाई लिएर सुरक्षा व्यवस्था बलियो बनाएको नेपाल प्रहरीले जनाएको छ ।

मङ्सिर ७ गते नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको काठमाण्डौ प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भूपेन्द्र खत्रीले बताउनुभएको हो । उहाँले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताउनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै एसएसपी खत्रीले आमसर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नका लागि गाडी आउजाउलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको जानकारी गराउनुभयो । उहाँले कुनै डर र त्रास नलिइकन आफ्नो दैनिकी बिताउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । गाडी आउजाउमा केही केही समस्या भए पनि त्यसका लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘काठमाण्डौमा ७ गते के हुन्छ भनेर विभिन्न सूचना र चासो आएको छ । यो विषयमा प्रस्ट्याउनै पर्ने हुन्छ । काठमाण्डौमा हुँदै गरेको विरोध कार्यक्रमलाई मध्यनजर गरी प्रहरीले एकीकृत सुरक्षा योजना लागू गरेको छ । भोलि तीनकुने र बल्खुमा हुने कार्यक्रमलाई मध्यनजर गरी हामीले सर्वसाधारणको दैनिकीलाई सहजीकरण गर्नका लागि गाडी आउजाउलाई व्यवस्थित गर्छौँ । विरोध कार्यक्रमलाई कसरी सुरक्षित बनाउन सकिन्छ रु कसरी व्यवस्थित बनाउन सकिन्छ रु कसरी मर्यादित बनाउन सकिन्छ भनेर सुरक्षाको प्रबन्ध गरेका छौँ । सर्वसाधारणलाई कुनै संशय विना यात्रा गर्न आग्रह गर्छु ।’

एसएसपी खत्रीले काठमाण्डौका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रबन्ध गरिसकेको र प्रभावकारीरूपमा सुरक्षा व्यवस्थालाई अघि बढाएको बताउनुभयो ।

यसअघि आजै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने भोलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन आग्रह गरेको थियो । कार्यालयले घरबाट निस्कन परेमा नेपाल प्रहरीको हटलाइन १०० मा र ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर निस्कन आग्रह गरेको छ । यस्तै सडकको अवस्था बझेर यात्रा गर्न पनि सूचनामार्फत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार