मालिकार्जुन गाउँपालिका–७ जोलजीविमा शुक्रबार ऐतिहासिक जोलजिवी मेलाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन् । मालिकार्जुन गाउँपालिकाको आयोजनामा सुरु भएको अन्तर वडास्तरीय सांस्कृतिक महोत्सवको मुख्यमन्त्री शाहले उद्घाटन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले संस्कृति जगेर्ना गर्न सबैले लाग्नुपर्ने बताए । उनले भने, यो ऐतिहासिक मात्रै हैन यहाँको धरोहर पनि हो ।
पहिलोपटक ऐतिहासिक सांस्कृतिक महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री शाह दार्चुला पुगेका हुन् । भारत उत्तराखण्ड र नेपाल दार्चुलाको संस्कृति संरक्षणमा सबैको सहयोग र सहकार्य अपरिहार्य रहन्छ ।
मालिकार्जुन गाउपालिका अध्यक्ष हिरासिह धामीले तीन तहको सरकारको समन्वयमा मात्रै संस्कृति संरक्षण आवश्यक रहने बताए । हामीले संस्कृति संरक्षणको लागि प्रयास गरेका छौं उनले भने यसमा सबैले सहकार्य गरौं ।
कार्यक्रममा मुख्यमन्त्री सँगै सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री शिवराज भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, प्रदेश सासंद बिक्रमसिह धामी लगायत जनप्रतिनिधिले सम्बोधन गरेका थिए ।
जोलजिवीमा मंसिर १ गते देखि ३ गतेसम्म मेलाको आयोजना गरिएको छ । सांसकृतिक महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।
मेला महोत्सवमा स्थानीय कला संस्कृति झल्किने नृत्य र झाँकीहरु देखाइएको छ । हरेक वडाबाट आएका झाकी र संस्कृति भिन्नभिन्न रहेको छ । महाकाली र गोरी नदीको संगम जोलजिवीमा नेपाल र भारत दुबैतर्फ यो मेला लाग्ने गर्दछ । १८७१ सालबाट भारतको उत्तराखण्डको जौलजीविमा अस्कोटी राजा पुष्कर पालले जौलजिवी मेलाको सुरुवात गरेको इतिहास छ । जोलजिवी मेला परम्परागत रुपमा व्यापारिक मेलाको रुपमा मनाइदै आएको छ ।
पहिलोपटक मेलालाई स्थानीय कलाकार, स्थानीय संस्कृति प्रतिस्पर्धा गराइएको मालिकार्जुन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए । कार्यक्रममा स्वागत मन्तव्य गाउपालिका उपाध्यक्ष कल्यानसिह धामीले राखेका थिए