दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आफुले गर्ने आगामी कार्यक्रमहरु सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आगामी दिनमा लागु औषध, गुण्डागर्दी, वेश्यावृती मुक्त क्षेत्र घोषणा लगायत मेला,पर्व बाहेक राति ९ बजेपछि खेलिने देउडा खेल पुर्णतया बन्द गर्ने जनाएको छ । जिल्लामा मेलापर्व बाहेकका दिनमा राति ९ बजेपछि देउडा खेल खेल्न नपाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुभयो ।
पराम्पगत मेलापर्वहरुमा भने कुनै रोकतोक नहुने डिएसपी सिंहले बताउनुभयो । त्यस्तै विगतमा जिल्ला सदरमुकाममा भइरहेका अनैतिक गतिविधि बेश्यावृत्ती लगायत लागु औषध, गुण्डागर्दी पुर्ण रुपमा बन्द गरिएकोले आगामी दिनमा पनि रोक लगाइराख्ने योजना रहेको डिएसपी सिंहको भनाई छ ।
त्यसैगरि हरेक नागरिकलाई बर्दि विनाको प्रहरी बनाउने, जिल्ला सदरमुकाममा भइरहेका गतिविधिहरु विस्तारै जिल्लाभरी लागु गर्ने र लामो कपाल पाली गुण्डागर्दीमा संलग्न व्यक्तिहरुका आफन्त समेत बोलाई कपाल काट्न पठाउने योजना रहेको बताउनुभयो । त्यस्तै अबैध मदिरा तथा तस्करी पुर्णतया बन्द गर्ने, मादक पदार्थ सेवन गरि सवारीसाधन चलाउन रोक लगाउने, चाडपर्वमा हुने चोरी डकैती, लुटपाट तथा जघन्य घटना रोकथाम गर्ने र टोलटोल देखि स्कुल कलेज हुदै पालिका स्तरसम्म वृहत रुपमा सचेतनाका कार्यक्रमहरु संचालन गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।