नेपाली नागरिकता बोक्ने चिनिया र २ जना नेपाली पानीटंकीमा पक्राउ

झापा । नेपाली नागरिकतासहित भारत प्रवेश गरेका एक चिनिया नागरिक पानीटंकी नाकामा पक्राउ परेका छन्। उनका सहयोगी दुई जना नेपालीलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको छ । चिनिया नागरिकलाई सहयोग गरेको आरोपमा भारतीय एसएसबीले दुई जना नेपाली नागरिकलाई समेत पक्राउ गरेको हो। चिनिया नागरिक ली शियाकाङ नेपाल–भारतको सीमा नाका काँकडभिट्टाहुँदै भारतको पानीटंकी बजार पुगेका थिए । उनलाई सहयोग गर्ने सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारी पक्राउ परेका हुन्। उनीहरू गाडी चढेर शुक्रबार दिउँसो भारत गएका थिए। सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनका टोलीले आवश्यक कागजपत्र माग्दा चिनिया नागरिक शियाकाङले नेपाली नागरिकताको फोटोकपी देखाएका थिए। तर उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन। एसएसबीका जवानलाई उनीमाथि शंका लागेर नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा चीनबाट नेपाल आएको खुलेको थियो। त्यसपछि चिनिया नागरिकसहित तीनै जनालाई पक्राउ गरी खोरीबारी प्रहरीलाई जिम्मा लगाएको थियो । प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार