काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइराला कोशी प्रदेशमा मुख्यमन्त्रीको दावीलाई लिएर दवावमा देखिएका छन् । उनलाई कोशी प्रदेशको मुख्यमन्त्रीमाथि केदार कार्कीको दावी फिर्ता गराउन दवाव परेको छ । कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।
प्रदेश महामन्त्री उमेश थापाका अनुसार समितिको बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरेको छ । बैठकले केन्द्रले थप केही निर्देशन दिएमा त्यसको निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको थापाले बताए । केन्द्रले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
कोसी प्रदेशमा कांग्रेस सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेपछि नेपाली कांग्रेसका नेता कोइरालामाथि चौतर्फी दवाव दिने क्रम जारी छ । साँझ ५ बजे अगाडि नै कार्कीको दावी फिर्ता गराउन कोइरालामाथि पार्टी सभापति शेरबहादुर देउवादेखि राष्ट्रपति र प्रधानमन्त्रीको समेत दवाव परिरहेको छ । उनलाई मनाउन सभापति देउवाले हर तरहले नेताहरूलाई प्रयोग गरिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले फोन गरेर शेखरसँग चासो राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति देउवाले कार्कीको दाबी फिर्ता गराउन दवाव दिएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले कोइरालालाई फोनमार्फत कार्कीको दाबीका विषयमा चासो राखेका थिए । त्यसमा कोइरालाले धेरै पटक आफूले कांग्रेसको नेतृत्वमा सरकार गठनको विषयमा छलफल गर्न चाहे पनि छलफल हुन नसकेको बताएका थिए ।
उनले प्रदेश संसदीय दलका नेता र उनी निकटहरूले नै माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने बताएपछि विकल्पको खोजीमा अहिलेको परिणाम आएको बताएका थिए । कोइरालालाई सभापति देउवाले भने आफैँ फोन नगरेको बताइएको छ । बिहान ज्ञानेन्द्र कार्की देउवाको सन्देश लिएर कोइरालासमक्ष गएका थिए । कार्कीले शेखरलाई केदार कार्कीको उमेदवारी फिर्ता गराउँन भनेका थिए ।