सिन्धुपाल्चोक — भूकम्पको आठ वर्ष पाँच महिनापछि उत्तरी तातोपानी नाका सर्वसाधारणका लागि खुलाइए पनि चीनले निर्यातलाई प्राथमिकता नदिँदा स्थानीय र व्यवसायी निराश भएका छन् ।
तातोपानीबाट निर्यात शून्य
गत वैशाख १८ मा निर्यात, भदौ १५ मा तातोपानी नाका सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको थियो । पूर्णरूपमा खोलिएको नाकामा हालसम्म चिनियाँले एकोहोरो आफ्नो सामान मात्रै बिक्री गरिरहेका छन् । आयात दिनहुँ बढ्दो रहेको र निर्यात शून्य जस्तै भएपछि यहाँका व्यवसायी दिक्क भएको भोटेकोशी चेम्बर अफ कमर्सले जनाएको छ ।
स्थानीय व्यवसायीलाई नेपालबाट कुनै पनि स्थानीय उत्पादन र सामग्री चिनियाँ बजारमा लैजान दिइएको छैन । ‘तातोपानी नाका चिनियाँ सामग्री बेच्न खोलिएको जस्तै भयो, सीमा गाउँमा उत्पादित अर्गानिक साग, निगुरो, फलफूलसमेत चिनियाँ बजारमा लैजान दिइएको छैन, नेपालमा बनेको एक पोका चाउचाउ लानु त धेरै परको कुरा भयो,’ भोटेकोशी–२ की स्थानीय व्यवसायी सानुमाया शेर्पाले दुखेसो गरिन् । चिनियाँ मालसामान मात्रै बेच्ने चीनको नीतिले नेपालीलाई फाइदा नहुने र यस्तो एकलौटी व्यवहारले यहाँका सम्पूर्ण व्यवसायी चकित परेको उनले बताइन् ।
स्थानीयले मितेरी पुलपारिका चिनियाँ बजारबाट घरायसी प्रयोजनका लागि सामान ल्याउन पनि सीमामा सुरक्षाकर्मीबाट घण्टौं रोकेर झन्झटिलो बनाउने गरेको उनको भनाइ छ । भूकम्पअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउ जस्ता एक सय ८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा निर्यात हुने गर्थे । यहाँका सयौं व्यापारी निर्यातमा निर्भर थिए । चीनले निर्यात ठप्प जस्तै बनाएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय प्रमुख दयानिधि केसीले बताए ।
वैशाख १८ मा निर्यात खुलेलगत्तै ७ कन्टेनरमा मुढा, मेट्रेस, कुर्सीलगायत ४३ लाख बराबरका सामग्री चीनमा पैठारी गरिएको थियो । ‘त्यसयता कुनै निर्यात हुन सकेको छैन, निर्यात लगभग शून्य छ, बरु चीनले आयातलाई प्राथमिकता दिएको देखिन्छ । पहिले दिनहुँ ७ कन्टेनर भित्रिन्थे, अहिले १० देखि १२ कन्टेनरमार्फत सामग्री आइरहेको छ,’ केसीले भने । यस वर्ष ४ अर्ब ८० करोड राजस्व संकलनको लक्ष्य राखिएकामा अहिलेसम्म एक अर्ब ८० करोड संकलन भएको उनले जनाए । नाका सर्वसाधारणका लागि खोलिएयता राजस्व बढ्ने अनुमान छ ।
चिनियाँ कम्पनीले तातोपानीबाट सामग्री नमगाएका कारण निर्यात नियमित हुन नसकेको सिल्क ग्रुपका व्यवसायी विजय शेर्पाले बताए । ‘नाका खुलेको दिनबाहेक सामग्री अर्डर जिरो छ, सबै सामग्री रसुवागढी नाकाबाट ल्याएको हुनाले तातोपानीबाट अर्डर नगरेको चिनियाँ कम्पनीले बताउँदै आएका छन्,’ शेर्पाले भने । रसुवागढी नाकाभन्दा कम दूरी पर्ने भए पनि तातोपानीबाट सामग्री निर्यातमा चासो नदिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतको भनाइ छ ।
‘काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ र रसुवागढी १ सय ६४ किलोमिटर दूरीमा पर्छ, केरुङभन्दा तातोपानीबाट सिगात्से ३० किमि कम पर्छ । चीनको जुनसुकै कम्पनीबाट झिकाएका सामग्री खासाबाट तातोपानी पुग्न १२ देखि १५ दिन लाग्छ, फेरि यहाँबाट निर्यात खुम्चाइनुको कारण बुझ्न सकिएन ?’ बस्नेतले प्रश्न गरे । आठ वर्षपछि तातोपानीको गुल्जार फर्काउन सडक, भवनलगायतको व्यवस्थापनमा सरकारले तत्परता देखाउनुपर्ने उनले जनाए ।
तातोपानी हुँदै दिनहुँ ४० जना चिनियाँ नेपाल आइरहेका छन् भने दुई सयभन्दा बढी नेपाली सामान किन्न चिनियाँ बजार पुग्छन् । चीनले व्यवस्थित पार्किड, अध्यागमन, सुरक्षा तथा प्रशासनिक भवन र बजार ठड्याएको छ । नेपालतर्फ मितेरी पुलनजिकै रहेको अध्यागमन कार्यालय कोदारीको आफ्नै भवन छैन, सञ्चालित भवन र कार्यालय राखिएको भाग जीर्ण छ ।
नियमित विद्युत् र सहज नभएकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकलाई भिसा इन्ट्री गर्न घण्टौंसम्म कुर्नुपर्ने बाध्यता छ । खण्डहर घरले भरिएको लिपिङ बजार, जीर्ण अध्यागमन भवन र अव्यवस्थित भन्सार गेट, ध्वस्त सडक, क्वारेन्टाइनदेखि आयातित वस्तुको गुणस्तर परीक्षण गर्ने उपकरण छैन ।
बाढीपहिरोले जीर्ण बनाएको बाह्रबिसेदेखि तातोपानी (कोदारी राजमार्ग) २६ किलोमिटर सडक उस्तै जोखिमपूर्ण छ । प्रधानमन्त्रीको चीन भ्रमणमा अरनिको राजमार्ग मर्मत र सुधार गर्ने सहमति भएको छ । तर यसअघिझैं कमसल काम भए सडकको अवस्था नसुधारिने जनप्रतिनिधिको भनाइ छ । यसअघि चाइना रेलवे (फोर्थ) कन्स्ट्रक्सन ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) ले दुई पटक राजमार्गमा १७ स्थानमा ट्र्याक खोल्दै मर्मत सम्भार र कालोपत्रको काम सकेको थियो । राजमार्गको (बसेरी लिपिङ खण्ड) मा एक अर्ब ३६ करोड बराबर खर्चिएको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ । ४० फुटे चिनियाँ ट्रेलर गुड्दा सडकलाई जोखिम बढ्ने भएकाले लार्चास्थित बन्दरगाहसम्म ट्रेलरले सामान ल्याउने र त्यहाँबाट अर्कोमा सारेर साना कन्टेनरले काठमाडौं ढुवानी गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको भनाइ छ ।