दार्चुला-चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला प्रहरी कार्यालय दार्चुलाले सदरमुकाम खलंगाको बसपार्क क्षेत्रमा ‘यात्रु तथा नागरिक सहायता कक्ष’ स्थापना गरेको जनाएको छ । प्रहरीले दशै, तिहार तथा छठ जस्ता पर्वहरु लक्षित यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा खटीएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरेको जनाएको छ । यातायात व्यवसायी, चालक, स्थानिय र सारोकारवालाहरुको उपस्थितिमा महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको बताइएको छ ।

चाडबाडको समयमा भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन २४ घण्टे सहायता कक्षको स्थापना गरिएको सूचना अधिकारी सिंहले बताउनुभयो । सहायता कक्षबाट यात्रु तथा नागरिकका गुनासाहरु सम्बोधन गरिने बताइएको छ । हिन्दु नेपालीहरुको महान चाँड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी हुन सक्ने गैह्र कानूनी क्रियाकलापहरु नियन्त्रण तथा सवारी व्यवस्थापनको लागि यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरिएको हो । जिल्लाका बढी भिडभाड हुने स्थानहरुमा समेत यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।