दुहुँमा एकल पुरुषलाई पाँच सय मासिक भत्ता

दार्चुलाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । लिकाभित्रका सबै एकल पुरुषलाई सामाजिक सुरक्षाबाफत मासिक भत्ता दिने भएको हो । दुहुँ गाउँपालिकाले सूचना जारीगर्दै भत्ता पाउन उमेर पुगेका व्यक्तिहलाई वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ । गाउँपालिकाले गैरदलितको हकमा ५० वर्ष देखि ६७ वर्ष ननाघेको तथा दलितको हकमा ५० वर्ष देखि ५९ वर्ष ननाघेको पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरसिह धामीले जानकारी दिए ।
गाउँपालिकाको आव २०८०÷८१ को नीति तथा कार्यक्रममा समावेश गरी एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो । भत्ता पाउन उमेर पुगेका एकल पुरुषले नेपाली नागरिकताको प्रमाण पत्र सक्कल, पासपोर्ट साइजको फोटो २ प्रति, पत्नीको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित वडाको सिफारिस तथा ५० वर्षसम्म विबाह नगरेको एकल पुरुषको हकमा वडाको विबाह नगरेको प्रमाण पत्र उपलब्ध गराउन भनेको छ ।
जेष्ठ नागरिकले संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउँदै आएको भएपनि एकल पुरुषले सामाजिक सुरक्षा पाउन सकेका थिएनन् । संविधानको मर्मअनुरुप गाउँपालिकाले एकल पुरुषको सामाजिक सुरक्षाको लागि भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताए ।
यसअघि दार्चुलाको अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष ०७५।०७६ बाटै एकल पुरुष सामाजिक सुरक्षा भत्ता दिन थालेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार