काठमाडौं । राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर ब्रेक शुमा लुकाएर ल्याएको सुन बरामद गर्यो ।भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक अशोक लामालाई पक्राउ गरेर सुरु भएको अनुसन्धानका क्रममा विभागले लाजिम्पाट, बालुवाटार, सामाखुशी, बाँसबारीसहित ११ स्थानमा रहेका चिनियाँ तस्करका अड्डामा छापा मार्यो ।
टोखामा तस्करीको सुन गाल्न र ढिक्का बनाउन खोलिएका साना फ्याक्ट्री नै फेला पार्यो । राजश्व अनुसन्धान विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दियो । ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ तस्करका थप अड्डासहित १० वटा सुन गाल्ने उपकरण फेला परेको सीआईबीकी निर्देशक किरण बज्राचार्य बताउँछिन् ।
‘चाबहिल, बाँसबारी, सामाखुशी, बालुवाटार समेतका स्थानमा छापा मारेर सुन गाल्न प्रयोग भएका अन्य सामग्रीहरु पनि बरामद गरिएका छन्’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बज्राचार्यले अनलाइनखबरसँग भनिन् ।
पछिल्लो दशकमा देखिएको सबैभन्दा उच्च तहको संगठित अपराध सञ्जाल यो सुन प्रकरणमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । उनीहरुका अनुसार, यसमा संलग्न कतिपय व्यक्ति आफूलाई थाहै नभई अपराधमा जोडिएका छन् । सञ्जालका धेरै सदस्यहरुबीच एकआपसमा चिनजान समेत छैन ।
अधिकृतहरुका अनुसार, यसअघि भारतमा समेत पक्राउ परेर छुटेका यसमा संलग्न चिनियाँ तस्करहरुले न त अनुसन्धानमा सहयोग गरे न थप तथ्यहरु खुलाए । अनुसन्धानमा भाषा त बाधक छँदैथियो ।