बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना नआएसम्मका लागि बन्द रहने भएको छ । महाकाली नदीमाथि रहेको झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेको छ । मर्मतको काम नसकिएको भन्दै अर्को सूचना नआउँदासम्मका लागि दैनिक बिहान पौने ९ बजेदेखि दिउँसो सवा एक बजेसम्म र दिउँसो सवा दुई बजेदेखि सवा चार बजेसम्म पुलमा आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको हो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले झण्डै डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा चिनिन्छ । झुलाघाटको महाकाली नदीमा पक्की पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ।